इरान-पाकिस्तान विदेशमन्त्रीबीच टेलिफोन वार्ता, युद्धविराम र क्षेत्रीय घटनाक्रमबारे छलफल

तेहरान/इस्लामाबाद — इरानका विदेशमन्त्री सेयद अब्बास अराघची र पाकिस्तानका विदेशमन्त्री मोहम्मद इशाक डारबीच सोमबार टेलिफोन वार्ता भएको छ। इरानी विदेश मन्त्रालयका अनुसार दुई विदेशमन्त्रीबीच पछिल्ला क्षेत्रीय घटनाक्रम र तेहरान–वासिङ्टनबीचको युद्धविरामसँग सम्बन्धित विषयहरूमा विचारविमर्श भएको हो ।
वार्ताका क्रममा इरानी विदेशमन्त्री अराघचीले इरान र अमेरिकाबीचको युद्धविराम तथा द्वन्द्व अन्त्यसम्बन्धी वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेकोमा पाकिस्तानको अविचल प्रयासको प्रशंसा गरे। साथै, उनले युद्धविराम सम्झौताको उल्लङ्घन, इरानी बन्दरगाह, तटीय क्षेत्र र जहाजहरूमाथिको धम्की, अमेरिकी अधिकारीहरूको आक्रामक अभिव्यक्ति, अव्यावहारिक मागहरू तथा लगातारका परस्परविरोधी भनाइहरूले कूटनीतिप्रति अमेरिकाको गम्भीरताको अभाव र दूषित मनसायलाई प्रस्ट पारेको बताए ।
इरानी विदेशमन्त्रीले भने, “इस्लामिक गणतन्त्र इरानले आफ्नो हित र राष्ट्रिय सुरक्षाको रक्षाका लागि आफ्ना सम्पूर्ण क्षमताहरू पूर्ण शक्तिका साथ प्रयोग गर्नेछ।”
प्रतिक्रियामा पाकिस्तानी विदेशमन्त्री डारले क्षेत्रमा युद्ध अन्त्य गर्न र शान्ति स्थापनाका लागि आफ्नो देशले गरिरहेको प्रयासबारे जानकारी गराउँदै थप परामर्शका लागि इस्लामाबादको तयारी रहेको बताए ।
यसअघि आइतबार पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ र इरानी राष्ट्रपति मसुद पेजेस्कियनबीच ४५ मिनेट लामो टेलिफोन वार्ता भएको थियो। सो वार्तामा सरिफले मित्र र साझेदारहरूको सहयोगमा क्षेत्रीय शान्ति र सुरक्षा प्रवर्द्धनका लागि इस्लामाबाद पूर्ण रूपमा प्रतिबद्ध रहने बताएका थिए। साथै, उनले साउदी अरेबिया, कतार र टर्कीका अधिकारीहरूसँगको आफ्नो पछिल्लो भेटवार्ताबारे इरानी राष्ट्रपतिलाई जानकारी गराउँदै ती अन्तरक्रियाहरू युद्धग्रस्त क्षेत्रमा दिगो शान्ति स्थापनाका लागि संवाद र कूटनीतिको दिगो प्रक्रियाको पक्षमा सहमति निर्माण गर्न निकै उपयोगी भएको बताएका थिए ।
यसैबीच, दुई साताका लागि भएको युद्धविराम आगामी अप्रिल २२ मा समाप्त हुँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानसँग वार्ताका लागि आफ्नो प्रतिनिधिमण्डल इस्लामाबाद पठाउने घोषणा गरेका छन्। यद्यपि, उनले सम्झौता नभए इरानी पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने चेतावनी पनि दोहोर्याएका छन् ।





