प्रधानमन्त्री बालेन र रविबीच नयाँ निवासमा भेटवार्ता, गृहमन्त्री प्रकरणले रास्वपाभित्रै विवाद चर्कियो

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह सोमबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नयाँ निवास पुगेका छन्। चौधरी ग्रुपले विकास गरेको इटालीटारस्थित सीजी हिल्सबाट सरेपछि लामिछाने बसेको नयाँ निवासमा प्रधानमन्त्री शाह सानो टोलीसहित कालो कार चढेर पुगेका हुन्। उनी सरकारी निवास बालुवाटारबाट दुईवटा अगुवा पछुवा गाडीको सुरक्षा व्यवस्थासहित लामिछाने निवास पुगेको बताइएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री र सभापतिबीचको यो भेटवार्ता गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण र व्यावसायिक साझेदारीसम्बन्धी विवादले उत्पन्न गरेको परिस्थितिका विषयमा केन्द्रित रहेको थियो। गृहमन्त्री गुरुङको बिचौलिया दीपक भट्ट र विवादास्पद व्यवसायी सुलभ अग्रवाललगायतसँगको व्यावसायिक साझेदारीको प्रसङ्ग सार्वजनिक भएपछि रास्वपाको केन्द्रीय समिति बैठकमा उठेका विषयहरूबारे दुई नेताबीच छलफल भएको बताइन्छ।
गृहमन्त्री गुरुङले सोमबार नै आफ्नो सचिवालय सञ्चालित ह्वाट्सएप समूहमार्फत सम्पत्ति विवरण र शेयर लगानीबारे बुँदागत रूपमा स्पष्टीकरण दिएका थिए। उनले स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी लुकाउनुको सट्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटमा रहेको विवरणमा समग्र रूपमा उल्लेख गरिएको दाबी गरेका थिए। तर, सम्पत्ति विवरणमा भरिएका कतिपय शंकास्पद पक्ष र लुकाइएको आरोप लागेका केही आर्थिक लगानीको चौतर्फी विरोध भएपछि गृहमन्त्री फेर्न दबाब उठेको अवस्था छ।
अघिल्लो साता मात्र प्रधानमन्त्री बालेन निकट मानिने श्रममन्त्रीलाई पदमुक्त गराइएको अवस्थाभन्दा अहिले गृहमन्त्री प्रकरणले निम्त्याएको परिस्थिति झनै कडा रहेको बताइन्छ। यसले रास्वपाभित्रै पक्ष र विपक्ष देखा परेको स्रोतको दाबी छ। केन्द्रीय समिति बैठकमा समेत गृहमन्त्रीको विषयलाई लिएर विभिन्न कोणबाट प्रश्न उठेको थियो।
यसैबीच, रास्वपाले सोमबार नै बसेको केन्द्रीय समिति बैठकबाट भूपदेव शाहलाई महासचिव मनोनयन गरेको छ। प्रवक्ता मनिष झाका अनुसार बैठकले सागर ढकाल र सरिता श्री ज्ञवालीलाई पार्टी सचिवालय सदस्यमा समेत मनोनयन गरेको छ।





