रास्वपाको महामन्त्रीमा भूपदेव शाह मनोनित, दुई महामन्त्रीको व्यवस्था कायम

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले भूपदेव शाहलाई पार्टीको महामन्त्रीमा मनोनयन गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा उक्त जिम्मेवारीमा चयन गरेको हो।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेले शाहलाई महामन्त्रीको जिम्मेवारी दिने प्रस्ताव केन्द्रीय समिति बैठकमा राखेका थिए। सोही बैठकले सागर ढकाल र सरिता श्री ज्ञवालीलाई पार्टी सचिवालय सदस्यमा समेत मनोनयन गरेको छ। झाले भने, “महामन्त्रीमा भूपदेव शाह, सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सभापतिबाट प्रस्तावित भयो र केन्द्रीय समितिबाट अनुमोदन भयो।”
यसअघि रास्वपाको महामन्त्रीमा कबिन्द्र बुर्लाकोटी कार्यरत थिए। पार्टीमा दुई महामन्त्रीको व्यवस्था गर्ने योजनाअनुरूप दोस्रो महामन्त्रीका रूपमा शाहलाई ल्याइएको हो। बुर्लाकोटीलाई भने रास्वपा संसदीय दलको मुख्य सचेतकको जिम्मेवारी दिइएको छ।
रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहसँगै भूपदेव शाह रास्वपामा प्रवेश गरेका थिए। उनले यसअघि केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दै आएका थिए। प्रतिनिधिसभा निर्वाचनमा शाह अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बने पनि पराजित भएका थिए। प्रारम्भमा उनलाई सहमहामन्त्री बनाउने र सुनिल लम्साललाई महामन्त्रीको जिम्मेवारी दिने समझदारी बनेको थियो। तर, लम्साल भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेपछि शाहलाई महामन्त्रीमा चयन गरिएको हो।
प्रधानमन्त्री बालेन्द्र शाह बनेपछि भूपदेवलाई प्रधानमन्त्री सचिवालयमा लैजाने तयारी भए पनि अन्ततः उनलाई पार्टीमै क्रियाशील बनाउने योजनाअनुरूप महामन्त्रीको जिम्मेवारी दिइएको बताइन्छ।
रास्वपा पदाधिकारीहरूको विवरण:
· सभापति: रवि लामिछाने
· उपसभापति: स्वर्णिम वाग्ले
· महामन्त्री: कबिन्द्र बुर्लाकोटी
· महामन्त्री: भूपदेव शाह
· सहमहामन्त्री: विपिन आचार्य
· कोषाध्यक्ष: लिमा अधिकारी
· सहकोषाध्यक्ष: वसुमाया तामाङ
· प्रवक्ता: मनिष झा
सचिवालय सदस्यहरू: गणेश पराजुली, दीपक बोहरा, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोभिता गौतम, हरि ढकाल, सागर ढकाल र सरिता श्री ज्ञवाली।





