पूर्वी मार्गमा आयात–निर्यात ९ प्रतिशतले वृद्धि, रुसद्वारा सन् २०३६ सम्मको माल ढुवानी प्रक्षेपण सार्वजनिक

मस्को — रुसी उपप्रधानमन्त्री भिताली साभेलिएभको अध्यक्षतामा यातायात तथा रसद करिडोरसम्बन्धी उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकले चालु वर्षको पहिलो त्रैमासिक (जनवरी–मार्च) मा पाँच प्रमुख अन्तर्राष्ट्रिय यातायात करिडोरहरूमा भएको माल ढुवानीको अवस्थाको समीक्षा गरेको छ।
बैठकमा प्रस्तुत तथ्याङ्कअनुसार सबैभन्दा बढी माग रहने ‘पूर्वी दिशा’ (इस्टर्न डाइरेक्सन) अन्तर्गतको मार्गमा सन् २०२६ को पहिलो त्रैमासिकमा आयात–निर्यात ढुवानी गत वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशतले वृद्धि भएको छ। यो मार्ग रुसको व्यापारिक परिदृश्यमा सबैभन्दा व्यस्त र रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ।

यसैगरी, बैठकले अन्तर्राष्ट्रिय यातायात करिडोरहरूमा हुने आयात–निर्यात तथा पारवहन (ट्रान्जिट) माल ढुवानीको सन् २०३० सम्मको अद्यावधिक प्रक्षेपण र सन् २०३६ सम्मको दीर्घकालीन परिदृश्यसमेत प्रस्तुत गरेको छ। यी प्रक्षेपणहरूले आगामी डेढ दशकमा रुस हुँदै प्रवाहित हुने मालसामानको सम्भावित मात्रा र आवश्यक पूर्वाधार विकासको खाका कोर्न सघाउने बताइएको छ।
बैठकमा रुसी भूभाग हुँदै जाने अन्तर्राष्ट्रिय मार्गहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न आवश्यक उपायहरूमा पनि विशेष जोड दिइएको थियो। पश्चिमी प्रतिबन्धहरूका कारण परम्परागत व्यापारिक मार्गहरू प्रभावित भइरहेका बेला रुसले पूर्वी मार्ग तथा उत्तर–दक्षिण करिडोरजस्ता वैकल्पिक मार्गहरूको क्षमता विस्तारमा उच्च प्राथमिकता दिँदै आएको छ।





