८ बैशाख २०८३, मंगलवार

‘धम्कीको छायाँमुनि वार्ता स्वीकार्य छैन’: इरानी सभामुख

गालिबाफद्वारा अमेरिकी नाकाबन्दीप्रति कडा आपत्ति, युद्ध मैदानमा नयाँ रणनीति प्रस्तुत गर्ने चेतावनी

 

 

तेहरान — इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकाले होर्मुज जलसन्धिमा लगाएको नौसैनिक नाकाबन्दीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै वासिङ्टनले यस कदममार्फत इरानलाई आत्मसमर्पण गराउन खोजेको आरोप लगाएका छन्। उनले धम्कीको वातावरणमा कुनै पनि प्रकारको वार्ता स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

गालिबाफले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “ट्रम्पले (जलसन्धिमा) नाकाबन्दी लगाएर र युद्धविरामको व्यवस्थालाई उल्लङ्घन गरेर, भ्रममा रहँदै, वार्ताको टेबुललाई आत्मसमर्पणको टेबुलमा परिणत गर्न वा पुनः युद्ध सुरु गर्ने औचित्य पुष्टि गर्न खोजिरहेका छन्। हामी धम्कीको छायाँमुनि वार्ता स्वीकार गर्दैनौं।”

युद्धविराम लागू भएको पछिल्लो दुई साताको अवधिमा इरानले युद्ध मैदानमा ‘नयाँ पत्ता’ खोल्ने तयारी पूरा गरेको समेत उनले सङ्केत गरेका छन्। गालिबाफको यो अभिव्यक्तिले इरान र अमेरिकाबीच पाकिस्तानको मध्यस्थतामा जारी युद्धविराम र शान्ति वार्ताका बाबजुद दुई पक्षबीचको तनाव कायमै रहेको र अमेरिकी नाकाबन्दीका कारण वार्ता प्रक्रिया थप जटिल बन्दै गएको स्पष्ट पारेको छ। यसअघि इरानी राष्ट्रपति तथा विदेशमन्त्रीले समेत नाकाबन्दी नहटाइएसम्म अमेरिकासँग दोस्रो चरणको वार्तामा नबस्ने चेतावनी दिइसकेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button