एप्पलका सीईओ टिम कुकले सेप्टेम्बरमा पद छाड्ने, जोन टर्नसले सम्हाल्ने कार्यकारी नेतृत्व

क्यालिफोर्निया — एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले आगामी सेप्टेम्बरदेखि पद छाड्ने भएका छन्। एप्पलको प्रेस विज्ञप्तिअनुसार कुक कम्पनीको सञ्चालक समितिको कार्यकारी अध्यक्षमा नियुक्त हुनेछन्।
कुकको स्थानमा कम्पनीका हार्डवेयर इन्जिनियरिङका वरिष्ठ उपाध्यक्ष जोन टर्नसले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्। सञ्चालक समितिले यी नियुक्तिहरूलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको एप्पलले जनाएको छ।
सन् २०११ मा स्टिभ जब्सको निधनपछि एप्पलको नेतृत्व सम्हालेका कुकले कम्पनीलाई विश्वकै सबैभन्दा मूल्यवान प्रविधि कम्पनीको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। नयाँ सीईओ टर्नसले भने एप्पलको चिप डिजाइनदेखि हालैका वर्षहरूमा कम्पनीले प्रयोग गर्दै आएको आफ्नै एम–सिरिज प्रोसेसरको विकाससम्मका महत्त्वपूर्ण हार्डवेयर परियोजनाहरूको नेतृत्व गर्दै आएका छन्।
एप्पलको यो नेतृत्व परिवर्तन कम्पनीले आफ्नो व्यवसायिक रणनीतिलाई नयाँ चरणमा प्रवेश गराउने तयारी गरिरहेको बेला भएको हो।





