सुन चोरी गर्ने अन्तर्राष्ट्रिय गिरोह कपिलवस्तुमा पक्राउ
पाकिस्तानी नागरिकसहित चार जना हिरासतमा, विभिन्न मुद्रा र मोबाइल बरामद

कपिलवस्तु — सुन चोरीमा संलग्न रहेको आरोपमा कपिलवस्तु प्रहरीले दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। यसअघि पक्राउ परेका दुई जना महिलासहित हालसम्म चार जना यो गिरोहमा संलग्न रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार पक्राउ पर्नेमा पाकिस्तानी नागरिक २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफ उर रहमान रहेका छन्। उनीहरू वैशाख ५ गते पक्राउ परेका हुन्।
पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले १७ हजार १३६ अमेरिकी डलर, साउदी रियाल, बंगलादेशी टाका, यूएई दिराम, मलेसियन रिङ्गेट र दुई थान मोबाइल बरामद गरेको छ।
प्रहरीका अनुसार केही स्थानीय तथा सुनचाँदी व्यवसायीहरूलाई अपरिचित व्यक्तिहरूले अल्मल्याउने र सुन चोरेर भाग्ने गरेको सूचनाको आधारमा कपिलवस्तु प्रहरी अनुसन्धानमा खटिएको थियो। सोही क्रममा गत चैत ३० गते नै २० वर्षीया बिबी कालसुम र ४१ वर्षीया शबानालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूबाट प्राप्त सूचनाको आधारमा वैशाख ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई जना पुरुषलाई पनि पक्राउ गरिएको हो।
पक्राउ परेका चारै जनालाई कपिलवस्तु पुर्याई जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका यी व्यक्तिहरूमाथि सुनसरीको इटहरी, मोरङको विराटनगर, रुपन्देहीको बुटवल र चितवनमा समेत सुनका गरगहना चोरीको जाहेरी दरखास्त परेको छ। यसले उनीहरू देशका विभिन्न स्थानमा सुन चोरीका घटनामा संलग्न रहेको सङ्केत गरेको प्रहरीको भनाइ छ।





