८ बैशाख २०८३, मंगलवार

दाङमा डढेलो बस्तीमा पस्दा दुई घर जलेर नष्ट, वन क्षेत्रमा आगो अझै अनियन्त्रित

दाङ — दाङको राप्ती गाउँपालिका क्षेत्रमा सामुदायिक वनबाट सल्किएको डढेलो बस्तीमा फैलिँदा दुईवटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। वन क्षेत्रमा लागेको आगो भने अझै नियन्त्रणमा आउन सकेको छैन।

प्राप्त जानकारीअनुसार राप्ती गाउँपालिका वडा नम्बर १ स्थित रामजहदी सामुदायिक वन र सोही गाउँपालिकाको चन्दनपुर सामुदायिक वनमा डढेलो लागेको थियो। चन्दनपुर सामुदायिक वनमा सल्किएको डढेलो गढवा गाउँपालिका–७ शान्तिपुरस्थित बस्तीमा फैलिँदा दुईवटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

स्थानीयवासीका अनुसार डढेलो बस्तीमा पसेपछि आगलागी तीव्र भएको थियो। गढवा उद्योग वाणिज्य संघका ओमप्रकाश बस्यालले वन क्षेत्रमा सुरु भएको आगो विस्तार हुँदै बस्तीमा पुगेको जानकारी दिए। उनका अनुसार बस्तीमा लागेको आगो नियन्त्रणमा आए पनि वनमा लागेको डढेलो अझै पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन।

आगलागी नियन्त्रणका लागि स्थानीयवासी, सुरक्षाकर्मी र सरोकारवाला निकायको प्रयास जारी रहेको छ। यसैबीच, आगलागीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको र प्रभावित परिवारलाई राहत उपलब्ध गराउने तयारी भइरहेको जनाइएको छ।

यता, भालुवाङ बजारमाथिको डाँडामा लागेको डढेलो बढ्दै जाँदा आसपासका बस्तीमा समेत त्रास फैलिएको स्थानीयवासीले बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button