परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबीच शिष्टाचार भेटवार्ता
द्विपक्षीय सम्बन्ध सुदृढीकरण र व्यापार सहकार्यबारे छलफल

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेशमन्त्री एस. पाउल कपुरले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा दुई पक्षबीच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रही छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटवार्ताका क्रममा दुई देशबीचको आपसी हित र सहकार्यका क्षेत्रहरूबारे विचारविमर्श भएको थियो। सो अवसरमा व्यापार तथा लगानी क्षेत्रमा विशेष ध्यान केन्द्रित गर्दै आगामी दिनमा सहकार्यलाई थप विस्तार गर्ने विषयमा समेत कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने सहायक विदेशमन्त्री कपुर पहिलो उच्चस्तरीय अमेरिकी अधिकारी हुन्। उनले सोमबार नै अर्थमन्त्री स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन्। उनी तीन दिने नेपाल भ्रमण सकेर बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ।





