८ बैशाख २०८३, मंगलवार

चीनमा डिजिटल पठन संस्कृतिको तीव्र विस्तार

वयस्क पठन दर ८२.३ प्रतिशत पुग्दा प्रतिव्यक्ति वार्षिक सरदर ८.३९ पुस्तक पढ्ने गरेको तथ्याङ्क सार्वजनिक

नानचाङ (चीन) — चीनमा डिजिटल पठन संस्कृतिको द्रुत विकाससँगै नागरिकहरूमा पठन बानीको विकास हुने क्रम तीव्र भएको छ। सोमबार पूर्वी चीनको जियाङ्सी प्रान्तको राजधानी नानचाङमा उद्घाटन भएको पाँचौं राष्ट्रिय पठन सम्मेलनमा सार्वजनिक गरिएको तथ्याङ्कले यो प्रवृत्तिलाई पुष्टि गरेको छ।

सम्मेलनमा प्रस्तुत ‘राष्ट्रिय पठन सर्वेक्षण’ र ‘सन् २०२५ को चीन डिजिटल पठन प्रतिवेदन’ अनुसार सन् २०२५ मा चिनियाँ वयस्कहरूको समग्र पठन दर ८२.३ प्रतिशत पुगेको छ। यसैगरी, मुद्रित र डिजिटल दुवै प्रकारका पुस्तक पढ्ने सरदर सङ्ख्या प्रतिव्यक्ति ८.३९ पुगेको देखिन्छ। यी तथ्याङ्कहरूले चीनमा पठनप्रति जनचासो बढ्दै गएको र विशेषगरी डिजिटल स्वरूपले यसलाई थप सहज बनाएको स्पष्ट पारेको छ ।

सर्वेक्षण अनुसार चिनियाँ वयस्कहरूमध्ये ८०.८ प्रतिशतले ई–पुस्तक, अनलाइन साहित्य, श्रव्य पुस्तक तथा भिडियोमा आधारित सारांशजस्ता विभिन्न डिजिटल माध्यमबाट पठन गर्ने गरेको पाइएको छ। कार्यालय आवतजावतको क्रममा पुस्तक सुन्ने वा मोबाइल उपकरणहरूमा शृङ्खलाबद्ध कथा पढ्ने जस्ता गतिविधिले पठनलाई निकै सहज र पहुँचयोग्य बनाएको प्रतिवेदनको निष्कर्ष छ। यसले समग्र पठन सहभागिता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

डिजिटल पठन बजारको आकार पाँच वर्षमै झन्डै दोब्बर

‘सन् २०२५ को चीन डिजिटल पठन प्रतिवेदन’ ले चीनको डिजिटल पठन बजारको सुदृढ वृद्धिलाई उजागर गरेको छ। प्रतिवेदन अनुसार सन् २०२५ को अन्त्यसम्ममा चीनमा डिजिटल पठन प्रयोगकर्ताको सङ्ख्या ६८ करोड ९० लाख पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.९५ प्रतिशतले वृद्धि हो। यसै अवधिमा डिजिटल पठन सामग्री (कार्य) को कुल सङ्ख्या ७० अर्ब नाघेको छ ।

पछिल्लो पाँच वर्षमा डिजिटल पठन बजारको आकार झन्डै दोब्बर भएको छ। यो ३०२.५ अर्ब चिनियाँ युआन (करिब ४.४ अर्ब अमेरिकी डलर) बाट बढेर ५९४.७६ अर्ब युआन पुगेको छ, जसले आपूर्ति र माग दुवै पक्षमा बलियो वृद्धि भएको सङ्केत गर्छ। विज्ञहरूका अनुसार राजस्व वृद्धि अब नयाँ प्रयोगकर्ताको सङ्ख्या विस्तारमा मात्र नभई विद्यमान प्रयोगकर्ताहरूको गहन संलग्नता र सामग्रीको गुणस्तरीय विकासमा पनि निर्भर हुन थालेको छ ।

बजार विस्तारको एउटा प्रमुख कारक अनलाइन साहित्यको व्यापक सांस्कृतिक उद्योगमा भएको रूपान्तरणलाई मानिएको छ। युएवन समूहका उपाध्यक्ष सी लानफाङले भने, “पठनको सार भनेको कथाहरूलाई सीमाना तोडेर दैनिक जीवनमा प्रवेश गराउनु हो।” उनले सामग्रीहरू बढ्दो रूपमा अफलाइन सांस्कृतिक उपभोग र अन्तरक्रियात्मक अनुभवहरूमा विस्तार भइरहेको उल्लेख गरे।

परम्परागत पठनको निरन्तरता र गहन पठनको आवश्यकता

डिजिटल स्वरूपहरूको बाढीका बाबजुद पनि परम्परागत पठनप्रतिको आकर्षण कायमै रहेको पाइएको छ। सर्वेक्षणले ४५.९ प्रतिशत वयस्कहरू अझै पनि मुद्रित पुस्तक पढ्न रुचाउने गरेको देखाएको छ, विशेषगरी साहित्यिक कृतिहरूमा। यसले गहन र एकाग्र पठनप्रतिको निरन्तर मागलाई दर्शाउँछ।

चिनियाँ प्रकाशक सङ्घका अध्यक्ष वू सुलिनले डिजिटल युगमा पनि गहन पठन नै व्यक्तिगत वृद्धि, व्यावसायिक सफलता र नैतिक आचरणको जग भएको बताए। उनले पाठकहरूलाई “खण्डित ब्राउजिङ” बाट माथि उठेर “गहन पठन” तर्फ प्रोत्साहित गर्न बलियो मार्गदर्शन र संस्कृतिको आवश्यकता औंल्याए।

यसैबीच, पठनप्रतिको राष्ट्रिय अभियानलाई संस्थागत रूप दिन चीनले गत फेब्रुअरीदेखि ‘राष्ट्रिय पठन प्रवर्द्धनसम्बन्धी नियमावली’ लागू गरेको छ। सोही नियमावलीले प्रत्येक वर्ष अप्रिलको चौथो सातालाई ‘राष्ट्रिय पठन सप्ताह’ का रूपमा तोकेको छ। यस वर्ष पहिलोपटक मनाइन लागेको यस सप्ताहभरि देशैभरि व्याख्यान, पुस्तक मेला, साहित्यिक गोष्ठी तथा पुस्तक दानजस्ता विविध कार्यक्रमहरू आयोजना हुँदैछन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button