जापानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
स्थानीय सुनामीको लहर चीनसम्म नपुग्ने आधिकारिक पुष्टि

बेइजिङ — जापानको होन्सु टापुको पूर्वी तटीय क्षेत्रमा सोमबार अपराह्न ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि स्थानीय रूपमा सुनामीका लहरहरू उत्पन्न भए पनि यसले चीनको तटीय क्षेत्रमा कुनै असर नपार्ने चिनियाँ प्राकृतिक स्रोत मन्त्रालयअन्तर्गतको राष्ट्रिय समुद्री वातावरण पूर्वानुमान केन्द्रले आधिकारिक रूपमा जानकारी दिएको छ।
चीनको सरकारी भूकम्प सञ्जाल केन्द्रका अनुसार स्थानीय समय अनुसार सोमबार अपराह्न ३:५२ बजे जापानको होन्सु टापु नजिकैको समुद्रमा केन्द्रविन्दु रहेको यो भूकम्प १० किलोमिटरको गहिराइमा गएको थियो। भूकम्पको केन्द्रविन्दु उत्तरी अक्षांश ३९.८५ डिग्री र पूर्वी देशान्तर १४३.१० डिग्रीमा अवस्थित थियो।
विज्ञहरूको आश्वासन: चीनको तटीय क्षेत्र सुरक्षित
प्राकृतिक स्रोत मन्त्रालयअन्तर्गतको सुनामी चेतावनी केन्द्रका वरिष्ठ इन्जिनियर वाङ जोङचेनले सरकारी समाचार संस्था सिन्ह्वालाई दिएको जानकारीमा यस सुनामीले चीनको तटीय जलक्षेत्रमा कुनै प्रभाव नपार्ने र पूर्वी चीन सागरको बाहिरी क्षेत्रजस्ता टाढाका समुद्री भागहरूमा पनि कुनै विनाशकारी प्रभाव नपर्ने स्पष्ट पारे। उनले जापानको इवाते प्रिफेक्चरमा यात्रा गरिरहेका वा तटीय गतिविधिहरू सञ्चालन गरिरहेका चिनियाँ नागरिकहरूलाई त्यहाँको स्थानीय आपतकालीन प्रोटोकलहरूको पालना गर्न सल्लाह दिएका छन्। साथै, प्रभावित जलक्षेत्रबाट गुज्रने जहाज तथा माछा मार्ने डुङ्गाहरूलाई प्रशान्त महासागर क्षेत्रका लागि जारी गरिएका सुनामी चेतावनीहरूप्रति सतर्क रहन आग्रह गरिएको छ।
जापानमा क्षतिको विवरण र सुनामी चेतावनी
यसैबीच, जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले सुरुमा ७.४ म्याग्निच्युड मापन गरेको भूकम्पलाई पछि संशोधन गर्दै ७.७ म्याग्निच्युड कायम गरेको थियो। भूकम्पको धक्का राजधानी टोकियोसम्म महसुस गरिएको थियो । भूकम्पपछि प्रशान्त महासागरतर्फ रहेका इवाते र आओमोरी प्रिफेक्चरका तटीय क्षेत्रहरूमा सुनामीका लहरहरू देखिएका थिए। इवाते प्रिफेक्चरको कुजी बन्दरगाहमा ८० सेन्टिमिटर अग्लो सुनामी लहर मापन गरिएको थियो भने मियाको बन्दरगाहमा ४० सेन्टिमिटरको लहर रेकर्ड गरिएको थियो। आओमोरी प्रिफेक्चरको हाचिनोहे बन्दरगाहमा पनि ४० सेन्टिमिटरकै लहर देखा परेको थियो ।
जापान सरकारले होक्काइदो, आओमोरी, इवाते, मियागी र फुकुसिमा प्रिफेक्चरहरूमा १ लाख ७६ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा जान आदेश जारी गरेको थियो । सोमबार राति ११:४५ बजे जापान मौसम विज्ञान एजेन्सीले सबै सुनामी चेतावनी र परामर्शहरू हटाए पनि आगामी एक हप्तासम्म होक्काइदोदेखि चिबासम्मका सात प्रिफेक्चरहरूमा अर्को ठूलो भूकम्पको जोखिम रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
भूकम्पका कारण केही सामान्य मानवीय क्षति भएको जानकारी प्राप्त भएको छ। आओमोरीमा एक जना ६० वर्षीय वृद्ध घरको भर्याङबाट खसेर घाइते भएका थिए भने इवातेमा एक जना ८० वर्षीय वृद्ध सुपरमार्केटको पार्किङ स्थलमा ढलेर घाइते भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । तथापि, आओमोरी र मियागी प्रिफेक्चरहरूमा अवस्थित हिगासिदोरी र ओनागावा आणविक प्लान्टहरूमा तथा फुकुसिमा दाइची र दाइनी आणविक ऊर्जा प्लान्टहरूमा कुनै असामान्यता नदेखिएको सञ्चालक कम्पनीहरूले जनाएका छन् ।





