८ बैशाख २०८३, मंगलवार

भान्स इरान वार्ताका लागि मंगलबार पाकिस्तान जाने

वासिङ्टन — अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँगको वार्ताका लागि मंगलबार पाकिस्तानको भ्रमणमा जाने भएका छन्। अमेरिकी समाचार माध्यम एक्सियोसले सोमबार यो जानकारी दिएको हो ।

समाचारमा भनिएको छ, “उपराष्ट्रपति भान्स मंगलबार पाकिस्तानको भ्रमणमा जाँदैछन्, जहाँ उनले इरानसँगको तनावपूर्ण वार्तामा मध्यस्थता गर्ने प्रयास गर्नेछन्।”

यो भ्रमण यस्तो बेला हुन लागेको हो जब अमेरिका र इरानबीच पाकिस्तानको मध्यस्थतामा इस्लामाबादमा शान्ति वार्ता जारी छ। दुई पक्षबीच गत अप्रिल ८ देखि दुई साताका लागि युद्धविराम लागू भएको छ, जुन आगामी अप्रिल २२ मा समाप्त हुँदैछ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानसँग वार्ताका लागि आफ्नो प्रतिनिधिमण्डल इस्लामाबाद पठाउने घोषणा गरेका थिए। यद्यपि, उनले सम्झौता नभए इरानी पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने चेतावनी पनि दोहोर्याएका छन्।

इरानी पक्षले भने अमेरिकी नौसैनिक नाकाबन्दी युद्धविराम सम्झौताको उल्लङ्घन भएको बताउँदै नाकाबन्दी कायम रहेसम्म अमेरिकासँग दोस्रो चरणको वार्तामा भाग नलिने सङ्केत गरेको छ। इरानी सभामुख मोहम्मद बागेर गालिबाफले सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै ‘धम्कीको छायाँमुनि वार्ता स्वीकार्य नहुने’ स्पष्ट पारेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button