८ बैशाख २०८३, मंगलवार

लाउरेस विश्व खेलकुद पुरस्कार: अल्कारेज वर्षको उत्कृष्ट खेलाडी, साबालेन्का र यामाल सम्मानित

म्याड्रिड — स्पेनिस टेनिस स्टार कार्लोस अल्कारेज सोमबार राति म्याड्रिडमा सम्पन्न सन् २०२६ को लाउरेस विश्व खेलकुद पुरस्कार समारोहमा ‘वर्षको उत्कृष्ट विश्व पुरुष खेलाडी’ घोषित भएका छन्। लगातार दोस्रो वर्ष स्पेनिस राजधानीमै आयोजित भव्य समारोहमा अल्कारेजले सन् २०२५ मा चौथो पटक टुर डी फ्रान्स जितेका साइक्लिस्ट तादेज पोगाकार र आफ्ना मुख्य टेनिस प्रतिद्वन्द्वी यानिक सिनरलाई पछि पार्दै उक्त उपाधि हात पारेका हुन्।

टेनिसले नै यस वर्षको लाउरेसमा दोहोरो सफलता हात पार्यो। महिला विधामा बेलारुसकी आरिना साबालेन्का ‘वर्षको उत्कृष्ट विश्व महिला खेलाडी’ घोषित भइन्। पुरस्कार ग्रहण गर्दै उनले भनिन्, “यति धेरै सिताराहरू भएको यो कोठामा उपस्थित हुन पाउँदा म निकै भाग्यमानी महसुस गर्छु। यतिबेला खेलकुदमा धेरै बलियो, महान् र प्रेरणादायी महिलाहरू छन्।”

समारोहका सह–प्रस्तोताको भूमिका निर्वाह गरेका सर्बियाली टेनिस खेलाडी नोभाक जोकोभिच र चिनियाँ फ्रिस्टाइल स्कीइङ खेलाडी गु आइलिङले पनि दर्शकको मन जिते। प्रस्तोताको नयाँ भूमिकालाई आफ्नो स्कीइङ खेलसँग तुलना गर्दै गुले भनिन्, “दुवैले मेरो पेटमा ‘पुतलीहरू’ उडाएजस्तो अनुभूति दिन्छ।”

यामाललाई वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड

एफसी बार्सिलोनाका स्पेनिस अन्तर्राष्ट्रिय फुटबलर लामिन यामाल ‘वर्षको उत्कृष्ट युवा विश्व खेलाडी’ घोषित भए। प्रस्तोता गु आइलिङले यामालको जितको एउटा कारण “सम्पूर्ण पुस्तामाथि उनले पारेको प्रभाव” भएको बताइन्। पुरस्कार ग्रहण गर्दै यामालले भने, “आशा छ यसले मलाई निरन्तर अगाडि बढ्न मद्दत गर्नेछ, किनकि अझै लामो यात्रा बाँकी छ।”

फुटबलले अर्को सफलता पनि हात पार्यो। युरोपेली च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले इङ्ल्यान्ड महिला फुटबल टोली र भारतीय महिला क्रिकेट टोलीलगायतका कडा प्रतिस्पर्धीलाई पछि पार्दै ‘लाउरेस वर्षको उत्कृष्ट टोली’ को अवार्ड जित्यो।

मिकइल्रोय र नोरिसको सम्मान

‘वर्षको उत्कृष्ट पुनरागमन’ को अवार्ड गल्फर रोरी मिकइल्रोयले हात पारे। डिफेन्डिङ यूएस मास्टर्स च्याम्पियन रहेका मिकइल्रोयले युरोपलाई अमेरिकामा राइडर कप जिताउन समेत महत्त्वपूर्ण भूमिका खेलेका थिए। केही साताअघि मात्र मास्टर्सको उपाधि सफलतापूर्वक रक्षा गरेका मिकइल्रोयले भने, “मैले धेरै पटक जित्नबाट चुकेको अनुभव गरेको छु, तर त्यसले मलाई अझ कडा परिश्रम गर्न र कहिल्यै हार नमान्न सिकायो, र गत वर्ष अगस्टामा त्यसको पुरस्कार पाएँ।”

फर्मुला वान विश्व च्याम्पियन लान्डो नोरिस ‘वर्षको उत्कृष्ट सफलता’ (ब्रेकथ्रु) को विधामा विजेता घोषित भए। यस विधामा चीनकी यु जिदी पनि मनोनित भएकी थिइन्।

यसैगरी, ‘वर्षको उत्कृष्ट अपाङ्गता भएका खेलाडी’ को अवार्ड ब्राजिलियन पाराओलम्पिक पौडी खेलाडी गाब्रिएल आराउजोले जिते भने क्लोई किम तेस्रो पटक ‘वर्षको उत्कृष्ट एक्सन स्पोर्टस्पर्सन’ घोषित भइन्। उनले सन् २०१९ र २०२० मा पनि यो अवार्ड जितिसकेकी छन्।

क्रुसलाई ‘खेलकुद प्रेरणा’ अवार्ड

पूर्व रियाल म्याड्रिड र बायर्न म्युनिखका मिडफिल्डर टोनी क्रुसलाई ‘खेलकुद प्रेरणा अवार्ड’ प्रदान गरियो। जर्मनीमा आफ्नै एकेडेमी सञ्चालन गर्दै आएका क्रुसले बिरामी बालबालिकाहरूसँग पनि काम गर्दै आएका छन्। पुरस्कार ग्रहण गर्दै उनले भने, “यदि हामी सबै एकजुट भएर मिलेर काम गर्न सक्यौं भने हामी सबैले ठूलो फड्को मार्न सक्छौं।”

यसैबीच, समुदायमा खेलकुदको माध्यमबाट सकारात्मक परिवर्तन ल्याउने फुटबोल मास परियोजनाले ‘खेलकुद उत्कृष्टताका लागि’ (स्पोर्ट फर गुड) अवार्ड हात पार्यो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button