८ बैशाख २०८३, मंगलवार

‘दर्पण छायाँ’ को सुपरहिट जोडी उत्तम र निरुता ‘सारथी’ मार्फत दुई दशकपछि पुनः पर्दामा, मुहूर्तमै उत्तम अनुपस्थित

काठमाडौं — दुई दशकअघि नेपाली सिने जगतमा तहल्का मच्चाएको फिल्म ‘दर्पण छायाँ’ का सुपरहिट जोडी अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंह पुनः एकपटक पर्दामा देखिने भएका छन्। उनीहरूलाई मुख्य भूमिकामा राखेर फिल्म ‘सारथी’ निर्माणको औपचारिक घोषणा गरिएको छ।

सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा विधिपूर्वक पूजाआजा गर्दै फिल्मको शुभमुहूर्त सम्पन्न गरियो। तर, फिल्मको मुख्य आकर्षण मानिएका अभिनेता उत्तम प्रधान भने मुहूर्त कार्यक्रममा उपस्थित भएनन्। निर्माण पक्षका अनुसार उनी अहिले सिक्किममै रहेका र छायांकनकै क्रममा नेपाल आउने कार्यक्रम रहेको छ। मुहूर्तमा निरुता सिंहसहित अन्य कलाकार र प्राविधिकहरूको उपस्थिति रहे पनि उत्तमको अनुपस्थितिले फिल्म वृत्तमा सामान्य चर्चाको विषय बनेको छ।

किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको यो फिल्मको निर्देशन कुमार गजुरेलले गर्दैछन्। फिल्ममा उत्तम र निरुतासँगै मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई र आशा विश्वकर्माको पनि अभिनय रहनेछ।

नेपाली फिल्म क्षेत्रका अनुभवी सम्पादक तारा थापा ‘किम्भे’ यस फिल्मबाट प्रस्तुतकर्ताको भूमिकामा देखिनेछन्। सौर्यल थापा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी रहेका छन् भने लाइन प्रोड्युसरको जिम्मेवारी आमिर केसीले सम्हालेका छन्।

निर्माण पक्षका अनुसार फिल्मको छायांकन आगामी वैशाख १२ गतेदेखि म्याग्दीको रमणीय पर्यटकीय क्षेत्र गुर्जा खानीबाट सुरु हुनेछ। मुहूर्त कार्यक्रममा वरिष्ठ व्यक्तित्वहरू लक्ष्मीनाथ शर्मा, प्रकाश सायमी र मन्जुनाथ श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button