गृहमन्त्री सुधन गुरुङकै ‘हामी नेपाल’ संस्था कर नतिर्ने र दर्ता प्रक्रियासमेत नमिलाएको खुलासा, नन–फाइलरको सूचीमा

काठमाडौं — जेनजी आन्दोलनलाई शान्तिपूर्ण हुने भन्दै सरकारलाई पत्र लेखेर आश्वस्त पारेको र हाल गृहमन्त्री सुधन गुरुङ स्वयं संस्थापक संयोजक रहेको ‘हामी नेपाल’ संस्थाले सरकारलाई कर नतिरेको र दर्ता प्रक्रियासमेत पूर्ण रूपमा नमिलाएको पाइएको छ।
आन्तरिक राजस्व कार्यालय, महाराजगन्जका प्रमुख कर अधिकृत मुक्तिराम आचार्यका अनुसार २०७८ असार १६ गते उक्त कार्यालयमा स्थायी लेखा नम्बर (प्यान) ६०९७८९०६५ अन्तर्गत दर्ता भएको ‘हामी नेपाल’ ले आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्र लिएको देखिँदैन। साथै, सो प्यान नम्बरको अभिलेखमा कर दायित्व समयमै पूरा नभएको सङ्केत देखिएको र हाल उक्त संस्था ‘नन–फाइलर’ (कर विवरण नबुझाउने) को सूचीमा रहेको उनले जानकारी दिए।
संस्थाले आधिकारिक दर्ता हुनुभन्दा धेरै अगाडिदेखि अर्थात् सन् २०१५ देखि नै सामाजिक गतिविधि सञ्चालन गर्दै आएको दाबी गरेको पाइन्छ। संस्था दर्ता भएको करिब पाँच महिनापछि अर्थात् २०७८ पुस ६ गते नै ‘हामी नेपाल’ ले हाल सम्पत्ति शुद्धीकरणको आरोपमा हिरासतमा रहेका बिचौलिया दीपक भट्टलाई एक औपचारिक कार्यक्रमकै बीच सम्मान गरेको तस्बिरसमेत सार्वजनिक भइसकेको छ।
सुशासन र पारदर्शिताको नारासहित गृहजस्तो शक्तिशाली मन्त्रालयको नेतृत्व सम्हालिरहेका मन्त्रीसँग प्रत्यक्ष आबद्ध संस्थामै यस्ता अनेकन् कानुनी र वित्तीय त्रुटिहरू देखिनुले नैतिक र प्रशासनिक दुवै हिसाबले गम्भीर प्रश्न उठेको छ। यस विषयमा गृहमन्त्री सुधन गुरुङ वा सम्बन्धित संस्थाबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन। सम्बन्धित कर निकायले यसबारे छानबिन अघि बढाउने वा यसअघिका विवादहरूमा जस्तै मौनता कायम राख्ने भन्ने विषयसमेत प्रस्ट हुन सकेको छैन।





