अमेरिकी सहायक विदेशमन्त्री कपुरद्वारा बौद्धनाथ भ्रमण, परराष्ट्र र अर्थमन्त्रीसँग भेटवार्तापछि सम्पदा अवलोकन

काठमाडौं — नेपाल भ्रमणमा रहेका मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरले मंगलबार बिहान काठमाडौंस्थित बौद्धनाथ स्तुपाको भ्रमण गरेका छन्। उनीसँगै अमेरिकी कार्यवाहक राजदूत स्कट उर्बोम पनि बौद्धनाथ पुगेका थिए।
यसअघि, सहायक विदेशमन्त्री कपुर र कार्यवाहक राजदूत उर्बोमले मंगलबार बिहान नै सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका थिए। सो भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा लगानीको क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा केन्द्रित रही छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयबाट निस्किएपछि उनीहरू सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेका थिए। त्यहाँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको भेटवार्तापछि उनीहरू सिंहदरबारबाट बाहिरिएर सीधै बौद्धनाथ स्तुपा घुमघामका लागि गएका हुन्।
सहायक विदेशमन्त्री कपुर सोमबार बिहान तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका थिए। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने उनी पहिलो उच्चस्तरीय अमेरिकी अधिकारी हुन्। उनले सोमबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरिसकेका छन्। उनी बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।





