८ बैशाख २०८३, मंगलवार

पश्चिम एसियाको युद्धको छाया नेपालको पर्यटनमा

पोखरा-लुम्बिनीदेखि कर्णालीसम्म होटल सुनसान, युरोप-अमेरिकी पर्यटकको बुकिङ रद्दको लहर

काठमाडौं — पश्चिम एसियामा जारी तनाव र युद्धको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको छ। तेस्रो मुलुकबाट नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमा आउने तयारीमा रहेका पर्यटकहरूले धमाधम बुकिङ रद्द गर्न थालेका छन्। यसको सबैभन्दा बढी प्रभाव पोखरा र चितवनजस्ता प्रमुख गन्तव्यहरूमा परेको छ।

पोखराको एक मात्र पाँचतारे होटल पोखरा ग्रान्डमा यसअघिका वसन्त याममा ८० प्रतिशतसम्म अक्युपेन्सी पुग्ने गरेकोमा यस वर्ष यो दर ५० प्रतिशतमा झरेको छ। होटलका प्रतिनिधिका अनुसार युरोप र अमेरिकाबाट आउने ३० देखि ४० प्रतिशत पर्यटकले बुकिङ रद्द गरेका छन् भने केहीले ‘होल्ड’ मा राखेका छन्। ती मुलुकबाट नयाँ बुकिङ बन्द जस्तै भएको छ। हालको अक्युपेन्सीमध्ये झन्डै आधा हिस्सा भारतीय पर्यटकको रहेको छ भने बाँकीमध्ये धेरै आन्तरिक पर्यटक छन्। चिनियाँ पर्यटकको सङ्ख्या भने बढ्दो क्रममा रहेको बताइएको छ। होटलका एक अधिकारीले भने, “अहिले भारतीय पर्यटकले व्यापार धानिरहेको अवस्था हो।” युरोपेली र अमेरिकी पर्यटकको विकल्पमा खर्चिला भारतीय पर्यटक भित्र्याउन होटलले प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ।

यस्तै, पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एन्ड स्पामा पनि चालु सिजनमा ३० प्रतिशत बाह्य पर्यटकले बुकिङ रद्द गरेका छन्। होटलका सञ्चालक एवं रेवान पोखराका सचिव भीष्मराज पौडेलका अनुसार बुकिङ रद्द गर्नेमा अमेरिकी, युरोपेली र क्यानाडेली पर्यटकको सङ्ख्या धेरै छ। दुबई र कतारका विमानस्थलमा उत्पन्न अवरोध, यात्रा जोखिमपूर्ण बन्नु र हवाई भाडामा भएको वृद्धिले नेपालको पर्यटनमा प्रत्यक्ष असर पारेको उनको भनाइ छ। यद्यपि, भारतीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धिले केही राहत पुगेको उनले बताए।

बुद्ध जन्मस्थल लुम्बिनीस्थित तीनतारे होक्के होटलमा गत चैत महिनामा मात्र दुई सय रात्रिका लागि गरिएको कोठाको बुकिङ रद्द भएको अपरेसनल म्यानेजर भवीश्वर अधिकारीले जानकारी दिए। उनले भने, “अहिले बुकिङ आउन छाडेको छ। पर्यटकीय सिजनमा पनि होटल सुनसान छ।” लुम्बिनीकै अर्को कासाई होटलमा गत चैतमा १ हजार २ सय विदेशी पर्यटकले बुकिङ गरेकोमा ५ सयले रद्द गरेको होटलका म्यानेजर प्रज्जवल कार्कीले बताए। लुम्बिनी होटल सङ्घका अध्यक्ष लीलामणि शर्माका अनुसार लुम्बिनी आउने ६० प्रतिशत विदेशी पर्यटकले होटल बुकिङ रद्द गरेका छन्। मध्यपूर्वका मुलुक हुँदै नेपाल आउने युरोप-अमेरिकाका पर्यटक नै सबैभन्दा बढी घटेको उनको भनाइ छ।

चितवनको पर्यटन क्षेत्रमा पनि पश्चिम एसियाको युद्धको असर स्पष्ट देखिएको छ। मेघौली घटगाई नेचर गाइड एसोसिएसनका अध्यक्ष मनेश लिम्बूले आफूसँग सिधै बुकिङ गरेका जर्मनी र स्पेनका समूहले पनि अन्तिममा आएर बुकिङ रद्द गरेको बताए। क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओम पाण्डेका अनुसार चालु सिजनमा २० देखि २५ प्रतिशतसम्म बुकिङ रद्द भएको छ भने आउने भनिएका पर्यटकहरूको सङ्ख्यासमेत अपेक्षाभन्दा निकै कम रहेको छ।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार सहज अवस्थामा वसन्त याममा पोखराका होटलहरूमा ८० प्रतिशतसम्म अक्युपेन्सी हुने गरेकोमा अहिले यो दर ६० प्रतिशतको हाराहारीमा मात्र रहेको छ। पर्यटक आगमनमा आएको गिरावटको मुख्य कारण पश्चिम एसियाको युद्ध नै रहे पनि इन्धनको मूल्यवृद्धिले भने खासै असर नपुर्याएको उनको भनाइ छ।

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र पनि पर्यटकविहीन भएको छ। होटल सङ्घ नेपाल बर्दिया च्याप्टरका अध्यक्ष मोहनलाल चौधरीका अनुसार इन्धन मूल्यवृद्धिका कारण आन्तरिक पर्यटकको सङ्ख्यामा कमी आएको छ भने विदेशी पर्यटक पनि छिटपुट मात्र आइरहेका छन्। डिजेलको मूल्य बढेसँगै एक दिनको जिप सफारीको लागत १२ हजार ५ सय रुपैयाँबाट बढेर १८ हजार ५ सय रुपैयाँ पुगेको छ।

यसैगरी, कर्णाली प्रदेशको पर्यटनमा पनि गम्भीर असर परेको छ। जुम्लाको सदरमुकाम खलङ्गा एक सातादेखि सुनसान बनेको छ। स्थानीय राजु बोहोराका अनुसार एक साताअघिसम्म दिनमै एक लाख रुपैयाँसम्मका अर्गानिक वस्तुको कारोबार हुने गरेकोमा अहिले दिनमा १५ हजार रुपैयाँको पनि कारोबार भइरहेको छैन। चन्दननाथ भैरवनाथ गुठी समितिका अध्यक्ष अमरबहादुर थापाका अनुसार मन्दिरमा दिनहुँ ५ सयसम्म पर्यटकले दर्शन गर्ने गरेकोमा अहिले २० जना पनि पुग्दैनन्।

समग्रमा, पश्चिम एसियाको युद्धको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा परेको छ। युरोप र अमेरिकाबाट आउने पर्यटकको बुकिङ रद्द हुनुका साथै नयाँ बुकिङसमेत ठप्पप्रायः भएको छ। यद्यपि, भारतीय र आन्तरिक पर्यटकको उपस्थितिले केही राहत प्रदान गरेको व्यवसायीहरूको भनाइ छ। तर, युद्ध लम्बिँदै गएमा कोभिड-१९ महामारीको समयमा जस्तै पर्यटन क्षेत्र नराम्ररी प्रभावित हुन सक्ने उनीहरूको चिन्ता छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button