‘नारी शक्ति वन्दन अधिनियम’ को विरोध गर्नेलाई सिक्किमका महिलाहरूको जवाफ: एसकेएम प्रवक्ता अञ्जना शर्माद्वारा एसडीएफको आरोपको खण्डन

गान्तोक (सिक्किम) — सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) की प्रवक्ता अञ्जना शर्माले एसडीएफ पार्टीको ‘चेली मोर्चा’ ले ‘नारी शक्ति वन्दन अधिनियम’ र महिला आरक्षण विधेयकबारे लगाएको आरोपको कडा शब्दमा खण्डन गरेकी छन्। प्रवक्ता शर्माले एक भिडियो सन्देश जारी गर्दै एसडीएफले सिक्किमका महिलाहरूले आयोजना गरेको ऐतिहासिक र्यालीलाई लिएर फैलाइएको भ्रामक सूचनाको पर्दाफास गरेकी हुन्।
लोकसभा र राज्य विधानसभाहरूमा महिलाका लागि ३३ प्रतिशत आरक्षण सुनिश्चित गर्ने ‘नारी शक्ति वन्दन अधिनियम’ को समर्थनमा सिक्किमका महिलाहरूले आयोजना गरेको उक्त र्याली ऐतिहासिक महिला नेतृत्वको प्रदर्शन थियो। प्रवक्ता शर्माले भनिन्, “सिक्किमका जनता, विशेषगरी जीवनका सबै क्षेत्रबाट आएका महिलाहरू, यो परिवर्तनकारी र ऐतिहासिक सुधारको समर्थनमा एकजुट भएर आएका थिए। तर तथाकथित विपक्षीले महिला सशक्तिकरणको सट्टा पुनः एकपटक नकारात्मकता, गलत सूचना र सस्तो राजनीति रोज्यो।”
उनले उक्त र्याली स्वतन्त्र भारतकै सबैभन्दा ठूलो सुधारमध्ये एक ल्याएर वास्तविक महिला सशक्तिकरणतर्फ बलियो कदम चालेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कृतज्ञता व्यक्त गर्न आयोजना गरिएको स्पष्ट पारिन्।
एसकेएमले सिक्किमका महिलाहरू प्रगति, सम्मान र लोकतन्त्रमा समान सहभागिताका लागि एकजुट रहेको र विपक्षीहरूको कुनै पनि झूटो प्रचारले यो सामूहिक स्वरलाई कमजोर बनाउन नसक्ने दोहोर्याएको छ।





