एसकेएम सरकारको सेवानिवृत्त कर्मचारी कल्याण बोर्डका अध्यक्ष कुडो छिरिङ भोटियाद्वारा राजीनामा, पार्टी सदस्यता समेत त्याग

गान्तोक (सिक्किम) — सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारद्वारा गठित सरकारी सेवानिवृत्त कर्मचारी कल्याण बोर्डका अध्यक्ष कुडो छिरिङ भोटियाले आफ्नो पदबाट राजीनामा दिएका छन्। साथै, उनले एसकेएम पार्टीको प्राथमिक सदस्यतासमेत त्याग गरेका छन्।
प्राप्त जानकारीअनुसार भोटियाले आफ्नो राजीनामा पत्र पार्टी अध्यक्षलाई सम्बोधन गरी पठाएका छन्। राजीनामा पत्रमा उनले व्यक्तिगत कारण देखाउँदै पार्टीले आफूमाथि गरेको विश्वास र प्रदान गरेको अवसरप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
कुडो छिरिङ भोटिया एसकेएम पार्टीका पुराना र प्रभावशाली नेताहरूमध्ये एक मानिन्थे। सरकारी सेवानिवृत्त कर्मचारीहरूको हकहित र कल्याणकारी कार्यक्रमहरूको कार्यान्वयनका लागि गठित उक्त बोर्डको उनी अध्यक्षको रूपमा कार्यरत थिए। हालसम्म उनको राजीनामाको कारणबारे पार्टी वा स्वयं भोटियाले थप कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।





