विदेशमा बसेर नेपाली पत्रकारलाई धम्की दिने एक नेपालीमाथि एफबीआईको अनुसन्धान सुरु, डिपोर्ट गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं — अमेरिकामा बसेर नेपाली पत्रकारलाई सामाजिक सञ्जालमार्फत धम्की दिने एक नेपाली नागरिकलाई नेपाल डिपोर्ट (देशनिकाला) गर्ने प्रक्रिया अघि बढेको छ। स्रोतका अनुसार रोल्पाको साबिक सिस्ने गाविस–१ (हालको थवाङ गाउँपालिका) का दिनेश केसीमाथि अमेरिकी नियामक निकायले अनुसन्धान थालेको हो।
डिभी परेर अमेरिका गएका केसीले आफूलाई रुकुम पश्चिम मुसिकोटको बताउँदै आएको भए पनि उनको वास्तविक घर तुवाङमा पर्छ। उनको ससुराली भने मुसिकोटमै रहेको र केही समयअघि बिदामा नेपाल आएको बेला विवाह गरेका थिए। हाल उनी अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका छन् र त्यहाँ ‘सेभेन इलेभेन’ नामक स्टोरमा रात्रिकालीन काम गर्छन्। यद्यपि, उनले सामाजिक सञ्जालमा आफ्नो पेसा ‘भान्छे’ उल्लेख गरेका छन्।
स्रोतका अनुसार अमेरिकामा उनको आपराधिक पृष्ठभूमि पनि राम्रो छैन। स्रोत भन्छ, “उनी सेफ (सुरक्षित) होइनन्। त्यो स्टोरमा रात्रिकालीन ड्युटी गर्छन्। हालसालै विवाह गरेका छन् तर फेसबुकमा गलत ठेगाना उल्लेख गरेका छन्। नेपालदेखि अमेरिकासम्म उनको राम्रो छवि छैन।”
रास्वपा निकट रहेर पत्रकारमाथि धम्की
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट मानिने केसीले विदेशमा बसेर नेपाली पत्रकारहरूलाई सामाजिक सञ्जालमार्फत धम्की दिँदै आएका छन्। उनले फेसबुकको म्यासेन्जरमार्फत पत्रकारहरूलाई गालीगलौज र धम्कीपूर्ण सन्देश पठाउने गरेको पाइएको छ।
यसैबीच, उनीविरुद्ध अमेरिकाका नियामक निकायहरूमा पनि उजुरी परेको स्रोतले जनाएको छ। हेट स्पीच (घृणित अभिव्यक्ति) सम्बन्धी मुद्दामा संघीय अनुसन्धान ब्यूरो (एफबीआई), न्यूयोर्क प्रहरी र काउन्टी प्रहरीले उनीमाथि संयुक्त रूपमा अनुसन्धान गरिरहेको र उनलाई नेपाल डिपोर्ट गर्ने तयारी सुरु भएको स्रोतले जानकारी दिएको छ।
यस विषयमा दूतावास स्रोतले भनेको छ, “यी व्यक्तिमाथि अनुसन्धान सुरु भइसकेको छ। अब उनी नेपाल डिपोर्ट हुन्छन्।” तर, डिपोर्ट प्रक्रिया कहिलेसम्म पूरा हुन्छ भन्नेबारे भने आधिकारिक जानकारी आइसकेको छैन।





