‘दीपक भट्टको वास्तविक कनेक्सन त बालेनकै गृहमन्त्रीसँग, गुरुङले तत्काल राजीनामा दिनुपर्छ’: एमाले सचिव बस्नेत

काठमाडौं — नेकपा एमालेका सचिव महेश बस्नेतले बिचौलिया दीपक भट्ट प्रकरणलाई लिएर गृहमन्त्री सुधन गुरुङमाथि तत्काल राजीनामा दिनुपर्ने दबाब दिएका छन्। उनले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासँग भट्टको नाम जोडेर बदनाम गर्ने प्रयास भएको भन्दै अनुसन्धानले भने भट्टको वास्तविक सम्बन्ध प्रधानमन्त्री बालेन्द्र शाह निकट गृहमन्त्री गुरुङसँगै देखिएको दाबी गरेका छन्।
सचिव बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, “व्यवसायी दीपक भट्टको नाम केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासँग जोडेर बदनाम गर्न नेपाली मिडिया र बालेन समर्थक सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भ्याइनभ्याई लागिरहेका थिए। तर अनुसन्धान गर्दै जाँदा उहाँहरूसँग सम्बन्धित कसैको कनेक्सन देखिएन। दीपकजीको कनेक्सन त बालेनजीकै निकट मानिएका गृहमन्त्री सुधन गुरुङसँग नै २५ लाख रुपैयाँ बराबरको सेयरसहित रहेको तथ्य बाहिरियो।”
उनले थप लेखेका छन्, “अझ रोचक पक्ष के छ भने कार्की आयोगका सदस्य विज्ञानराज शर्माको नाममा पनि १० लाख रुपैयाँ बराबरको सेयर फेला परेको भनिएको छ।” बस्नेतले दीपक भट्ट दोषी छन् वा छैनन् भन्ने विषय अदालतले नै निर्धारण गर्ने भए पनि गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनुपर्ने माग गरेका छन्।
उनले गृहमन्त्री गुरुङले राजीनामा नदिएमा थप तथ्य सार्वजनिक हुन सक्ने सङ्केत गर्दै लेखेका छन्, “यदि उनले राजीनामा दिएनन् भने मन्त्री बन्नुभन्दा चार–पाँच दिनअगाडि तातोपानी जाँदातिरको काण्डसँग सम्बन्धित भिडियो फुटेजसमेत पत्रकारहरूले तयार पारेर राखेको बताइँदैछ। यिनको कथित आपराधिक पृष्ठभूमिका कारण ढिलो–चाँडो यिनको पद जाने नै छ।”





