कर्णाली सरकारद्वारा दुई सडकलाई राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस, सवारी तथा यातायात नियमावली स्वीकृत

वीरेन्द्रनगर (सुर्खेत) — कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेशका दुई सडक आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ। यस्तै, बैठकले ‘कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२’ समेत स्वीकृत गरेको छ।
मंगलबार बिहान वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकले उक्त नियमावली पारित गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहका अनुसार बैठकले प्रदेशस्तरका पूर्वाधार आयोजनालाई सङ्घीय तहमा प्राथमिकता दिलाउन सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकताको आयोजनामा समावेश गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न सिफारिस गर्ने निर्णय गरेको छ। यस्तै, जाजरकोटको वडावन–सानाखोला सडकलाई पनि प्रादेशिक प्राथमिकताको आयोजनामा राखी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न राष्ट्रिय योजना आयोगमा सिफारिस गरिने भएको छ। यी दुवै सडकले सम्बन्धित जिल्लाको ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।





