बागमती नदीमा ठेक्काविनै मनपरी उत्खनन्
सर्लाहीका सांसद र प्रजिअसहितको टोली अनुगमनमा पुग्दा टिपर र जेसीबी रौतहटतर्फ फरार

रौतहट — रौतहट र सर्लाही सीमास्थित बागमती नदीमा नदीजन्य पदार्थ संकलनका लागि औपचारिक ठेक्का नै नलागेको अवस्थामा समेत मनपरी ढङ्गले उत्खनन् भइरहेको पाइएको छ। अवैध उत्खनन् धमाधम भइरहँदा नियामक निकाय भने मौन बस्दा स्थानीयवासी मारमा परेका छन्।
सर्लाहीको बरहथवा नगरपालिका–१ सहनीटोलस्थित हरैया घाटमा आइतबार बिहान प्रतिनिधिसभा सदस्य नरेन्द्र साह कलवार र प्रमुख जिल्ला अधिकारी रामुराज कडरियासहितको टोली अनुगमनका लागि पुग्दा खोलामा उत्खनन् गरिरहेका एक दर्जनभन्दा बढी टिपर र जेसीबी रौतहटतर्फ भागेका थिए। अनुगमन टोली आएको सूचना पाएपछि उत्खननमा संलग्न समूहले तीनवटा एक्स्काभेटर नजिकैको मकैबारीमा लुकाएर राखेको अवस्थामा फेला परेको थियो। अवैध उत्खनन्को प्रस्ट प्रमाण देखिँदा पनि सुरक्षा टोलीले ती एक्स्काभेटर तथा टिपर नियन्त्रणमा भने लिएन।
रौतहटको गढीमाई र बृन्दावन नगरपालिकाले आफ्नो क्षेत्रमा नदी उत्खनन्का लागि ठेक्का लगाएको भए पनि ठेकेदार पक्ष सर्लाहीतर्फ प्रवेश गरेर तटबन्धकै छेउमा आई अन्धाधुन्ध उत्खनन् गरिरहेको बरहथवा नगरपालिका–१ का वडाध्यक्ष राकेश सहनीले जानकारी दिए। उनका अनुसार हरैया घाटमा मनपरी उत्खनन् गरेर दर्जनौं स्थानमा पोखरीजस्तै ठूल्ठूला खाल्डा पारिएको छ।
“नदीजन्य पदार्थ उत्खनन्का लागि रौतहटमा ठेक्का लागेको छ, तर ठेकेदार सर्लाहीको तटबन्ध छेउमा आएर नदीजन्य पदार्थ निकाल्ने गरेका छन्,” वडाध्यक्ष सहनीले भने, “स्थानीयले अवरोध गर्न खोज्दा उनीहरू कुटाकुटमा उत्रन्छन्। हाम्रो सुनुवाइ नै हुँदैन। यहाँ रातदिन अन्धाधुन्ध उत्खनन् हुन्छ तर हामीसँग टुलुटुलु हेरेर बस्नेबाहेक विकल्प छैन।”
स्थानीयवासीका अनुसार सर्लाहीतर्फ अवरोध गर्न खोज्दा ठेकेदार पक्षबाट कुटपिट हुने गरेको र यस विषयमा सहनीटोलस्थित प्रहरी चौकीमा जानकारी गराउँदा समेत प्रहरीले वास्ता नगरेको गुनासो छ। उनीहरूले नदीको अवैध उत्खनन्मा प्रहरीको समेत मिलेमतो रहेको आरोप लगाएका छन्। यसअघि पनि यहाँ स्थानीय र ठेकेदार पक्षबीच पटक–पटक झडप भइसकेको छ।
प्रमुख जिल्ला अधिकारी कडरियाले बागमतीमा अवैध उत्खनन् भइरहेको पाइएको स्वीकार गर्दै मनपरी उत्खनन् रोक्न रौतहटका प्रमुख जिल्ला अधिकारीसँग तत्काल टेलिफोनमा कुरा गरेर बन्द गर्न आग्रह गरेको बताए। उनले भने, “रौतहटमा ठेक्का लागेर उत्खनन् भइरहेको भन्ने बुझेका छौं। जताबाट ठेक्का लगाएको भए पनि यसरी जथाभावी उत्खनन् गर्न पाइँदैन। हामी तत्काल बैठक बसेर उचित कदम चाल्छौं।”
बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृद्धिप्रकाश सिटौलाले बागमती नदीको सहनीटोल घाटमा ठेक्का लाग्न नसकेको जानकारी दिए। उनका अनुसार ठेक्काको सूचना निकाले पनि स्वीकार गर्न कुनै पनि कम्पनी नआएकाले ठेक्का प्रक्रिया अगाडि बढ्न सकेको छैन।
नगरपालिका तथा अन्य सम्बन्धित निकायबाट मापदण्डअनुसार उत्खनन् भए/नभएकोबारे नियमित अनुगमन र नियमन नहुँदा बागमती नदीका विभिन्न घाटबाट दैनिक मनपरी ढङ्गले नदीजन्य पदार्थको दोहन भइरहेको स्थानीयवासीको गुनासो छ। जथाभावी उत्खनन्का कारण वर्षायाममा बर्सेनि यस क्षेत्रमा कटान र डुबानको जोखिम बढ्दै गएको उनीहरूको भनाइ छ।





