गृहमन्त्री गुरुङको विवादास्पद व्यावसायिक साझेदारी र सम्पत्ति विवरण प्रकरणमा कांग्रेसपछि एमालेले पनि प्रश्न उठाउने

काठमाडौं — नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङबारे सार्वजनिक भएका समाचारहरूमाथि प्रश्न उठाउने भएको छ। गृहमन्त्री गुरुङको बिचौलिया दीपक भट्टलगायत विवादास्पद व्यवसायीहरूसँगको व्यावसायिक साझेदारी, सम्पत्ति विवरणमा लुकाइएको भनिएको लगानीलगायत विषयमा नैतिकता र पारदर्शिता प्रदर्शनका लागि एमालेले प्रश्न उठाउने बुझिएको छ। यद्यपि, एमालेले हालसम्म यस विषयमा औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।
यसअघि सोमबार नेपाली कांग्रेसले गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै तत्काल छानबिन सुरु गर्न सरकारसँग आग्रह गरेको थियो। कांग्रेस प्रवक्ता देवराज चालिसेले जारी गरेको प्रेस विज्ञप्तिमा उनीबारे प्रकाशित समाचारले गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ।”

भट्ट र अग्रवालको कम्पनीमा सेयर लगानी, सम्पत्ति विवरणमा उल्लेख नगरेको आरोप
हालै सार्वजनिक भएका समाचारहरूमा सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा पक्राउ परेका बिचौलिया दीपक भट्ट र शंकर समूहका सुलभ अग्रवालसँग गृहमन्त्री गुरुङको व्यापारिक साझेदारी रहेको खुलासा भएको थियो। उनले भट्ट र अग्रवालको ठूलो लगानी रहेका स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्समा संस्थापक सेयर लगानी गरेको तर सो विवरण आफ्नो सम्पत्ति विवरणमा उल्लेख नगरेको आरोप लागेको छ।
गृहमन्त्री गुरुङले भने सोमबार सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उक्त सेयर ऋण लिएर खरिद गरेको दाबी गरेका थिए। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको उनको सम्पत्ति विवरणको ऋणसम्बन्धी महल पूर्ण रूपमा खाली रहेको तथ्य सार्वजनिक भएको छ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री गुरुङसँग यस विषयमा लिखित स्पष्टीकरण मागेका छन्। साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि गृहमन्त्री गुरुङसँग लिखित जानकारी मागेको स्रोतले जनाएको छ। गुरुङले प्रधानमन्त्री र सभापति दुवैलाई सेयर ऋण लिएर किनेको जवाफ बुझाएको बताइएको छ।





