पाकिस्तानी विदेशमन्त्रीद्वारा अमेरिका र इरानबीच युद्धविराम लम्ब्याउन र वार्तालाई अवसर दिन आग्रह

इस्लामाबाद — पाकिस्तानका विदेशमन्त्री मोहम्मद इशाक डारले अमेरिका र इरानबीचको संलग्नता र संवादको आवश्यकतामा जोड दिँदै दुवै पक्षलाई युद्धविरामको अवधि लम्ब्याउन र कूटनीति तथा वार्तालाई अवसर दिन मंगलबार आग्रह गरेका छन्।
हाल इस्लामाबादमा अमेरिका र इरानबीच पाकिस्तानको मध्यस्थतामा शान्ति वार्ता जारी छ। दुई पक्षबीच गत अप्रिल ८ देखि दुई साताका लागि युद्धविराम लागू भएको छ, जुन आगामी अप्रिल २२ मा समाप्त हुँदैछ। युद्धविरामको अवधि सकिन लागेका बेला पाकिस्तानी विदेशमन्त्रीको यो आग्रहले क्षेत्रीय तनावलाई कम गर्न इस्लामाबादले सक्रिय कूटनीतिक भूमिका निर्वाह गरिरहेको स्पष्ट हुन्छ।
यसअघि इरानी विदेशमन्त्री सेयद अब्बास अराघची र पाकिस्तानी समकक्षी डारबीच सोमबार टेलिफोन वार्ता भएको थियो, जसमा पछिल्ला क्षेत्रीय घटनाक्रम र तेहरान–वासिङ्टनबीचको युद्धविरामसँग सम्बन्धित विषयहरूमा विचारविमर्श भएको इरानी विदेश मन्त्रालयले जनाएको थियो। सो वार्ताका क्रममा इरानी पक्षले अमेरिकी नौसैनिक नाकाबन्दी युद्धविराम सम्झौताको उल्लङ्घन भएको बताउँदै नाकाबन्दी कायम रहेसम्म दोस्रो चरणको वार्तामा भाग नलिने सङ्केत गरेको थियो। यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि इरानसँगको वार्ताकै सिलसिलामा मंगलबार पाकिस्तान भ्रमणमा जाँदैछन्।





