८ बैशाख २०८३, मंगलवार

ट्रम्पद्वारा युद्धविराम नथप्ने घोषणा, ‘इरानसँग उत्कृष्ट सम्झौता हुने’ दाबी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘उत्कृष्ट सम्झौता’ हुने अपेक्षा गरेको बताउँदै बुधबार समाप्त हुने युद्धविरामको अवधि नथप्ने स्पष्ट पारेका छन्। मंगलबार सीएनबीसीसँगको एक अन्तर्वार्तामा ट्रम्पले भने, “मलाई लाग्छ उनीहरूसँग कुनै विकल्प छैन। स्पष्ट रूपमा भन्नुपर्दा, हामीले उनीहरूका नेताहरूलाई हटाइसकेका छौं, जसले एकातिर अवस्थालाई जटिल बनाएको छ, तर यी नेताहरू धेरै बढी तार्किक छन्।”

शान्ति वार्ताका लागि समय दिन युद्धविराम थप्ने कि नथप्ने भन्ने प्रश्नमा ट्रम्पले भने, “ठीक छ, म त्यसो गर्न चाहन्न।”

हाल पाकिस्तानको मध्यस्थतामा इस्लामाबादमा अमेरिका र इरानबीच शान्ति वार्ता जारी छ। दुई पक्षबीच गत अप्रिल ८ देखि दुई साताका लागि युद्धविराम लागू भएको थियो, जुन आगामी अप्रिल २२ (बुधबार) मा समाप्त हुँदैछ। युद्धविरामको अवधि सकिन लागेका बेला ट्रम्पको यो अभिव्यक्तिले दुई पक्षबीचको तनावलाई थप चर्काउन सक्ने सङ्केत गरेको छ।

यसैबीच, पाकिस्तानका विदेशमन्त्री मोहम्मद इशाक डारले मंगलबार नै अमेरिका र इरानबीचको संलग्नता र संवादको आवश्यकतामा जोड दिँदै दुवै पक्षलाई युद्धविराम लम्ब्याउन र कूटनीतिलाई अवसर दिन आग्रह गरेका थिए। अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि इरानसँगको वार्ताकै सिलसिलामा मंगलबार पाकिस्तान भ्रमणमा गइसकेका छन्।

इरानी पक्षले भने अमेरिकी नौसैनिक नाकाबन्दी युद्धविराम सम्झौताको उल्लङ्घन भएको बताउँदै नाकाबन्दी कायम रहेसम्म दोस्रो चरणको वार्तामा भाग नलिने सङ्केत गरिसकेको छ। इरानी सभामुख मोहम्मद बागेर गालिबाफले सोमबार ‘धम्कीको छायाँमुनि वार्ता स्वीकार्य नहुने’ स्पष्ट पारेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button