राष्ट्रपति सीद्वारा लाओस विशेष दूतसँग भेटवार्ता, चीन–लाओस साझा भविष्यको समुदाय निर्माणलाई उच्चस्तरमा पुर्याउने प्रतिबद्धता

बेइजिङ — चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव एवं चिनियाँ राष्ट्रपति सी चिनफिङले लाओ पिपुल्स रिभोलुसनरी पार्टी (एलपीआरपी) केन्द्रीय समितिका महासचिव एवं लाओसका राष्ट्रपति थोङ्लोन सिसोलिथका विशेष दूत सालेउम्क्साइ कोम्मासिथसँग मंगलबार बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भेटवार्ता गरेका छन्।
भेटवार्ताका क्रममा राष्ट्रपति सीले सीपीसी र एलपीआरपीले प्रमुख राजनीतिक कार्यसूचीहरूबारे एकअर्कालाई जानकारी गराउन विशेष दूतहरूको पारस्परिक आदानप्रदान गर्नुले दुई पक्षबीचको गहिरो परम्परागत मित्रता र उच्चस्तरीय राजनीतिक आपसी विश्वासलाई प्रदर्शित गरेको बताए। यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सव तथा चीन–लाओस मित्रता वर्ष रहेको उल्लेख गर्दै राष्ट्रपति सीले केही समयअघि मात्र राष्ट्रपति थोङ्लोनसँग आदानप्रदान गरिएको पत्राचारमार्फत चीन–लाओस साझा भविष्यको समुदाय निर्माणलाई गहिरो बनाउने सहमति भएको स्मरण गरे।
राष्ट्रपति सीले महासचिव थोङ्लोनको नेतृत्वमा रहेको एलपीआरपी केन्द्रीय समितिको नेतृत्वमा लाओ पार्टी, राज्य र जनताले सम्पूर्ण कठिनाइहरू पार गर्दै सबै लक्ष्य र कार्यहरू सफलतापूर्वक पूरा गर्ने, समाजवादी मार्गमा दृढतापूर्वक अगाडि बढ्ने र पार्टीको शताब्दी लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गरे।

यस नयाँ ऐतिहासिक सुरुवात बिन्दुमा चीन र लाओसले दीर्घकालीन स्थिरता, अग्रगामी सोच, असल छिमेकीपन र व्यापक सहकार्यको नीति तथा असल छिमेकी, असल मित्र, असल कमरेड र असल साझेदारको भावनालाई पालना गर्नुपर्नेमा राष्ट्रपति सीले जोड दिए। दुवै पक्षले समाजवादको भविष्य र भाग्यप्रति रणनीतिक दृष्टिकोण राख्दै घनिष्ठ समन्वय र सहकार्य कायम गर्न, रणनीतिक तादम्यतालाई गहिरो बनाउन, व्यावहारिक सहकार्य विस्तार गर्न, साझा चुनौतीहरूको संयुक्त रूपमा सामना गर्न र चीन–लाओस साझा भविष्यको समुदाय निर्माणलाई उच्च मापदण्ड, उच्च गुणस्तर र उच्च स्तरतर्फ अगाडि बढाउनुपर्ने उनले बताए।
एलपीआरपी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य एवं लाओसका उपप्रधानमन्त्रीसमेत रहेका सालेउम्क्साइले राष्ट्रपति सीलाई राष्ट्रपति थोङ्लोनको पत्र हस्तान्तरण गर्दै एलपीआरपीको १२ औं राष्ट्रिय महाधिवेशनको सान्दर्भिक अवस्थाबारे जानकारी गराए। उनले चीनले लामो समयदेखि सुरक्षित र स्थिर आन्तरिक राजनीतिक तथा सामाजिक वातावरण कायम राख्दै निरन्तर र द्रुत आर्थिक वृद्धिको चमत्कार सिर्जना गरेको र अन्तर्राष्ट्रिय मञ्चमा यसको भूमिका र प्रभाव निरन्तर बढ्दै गएको बताए। लाओसले महासचिव सी चिनफिङले अगाडि सारेका प्रमुख विश्वव्यापी पहलहरूलाई दृढतापूर्वक समर्थन गर्ने र चीनसँग व्यापक र व्यावहारिक सहकार्यलाई गहिरो बनाउँदै लाओस–चीन साझा भविष्यको समुदाय निर्माणमा निरन्तर नयाँ उपलब्धिहरू हासिल गर्न इच्छुक रहेको उनले बताए।





