९ बैशाख २०८३, बुधबार

पुरातत्व विभागका दुई कर्मचारीविरुद्ध साढे चार करोड घुस र सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ।

आयोगका अनुसार निर्माण सेवाका सञ्चालक तथा सम्बद्ध संयुक्त उपक्रमहरूको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गरिएको पाइएको छ। त्यसरी प्राप्त घुस रकमबाट दुवै जनाले संयुक्त रूपमा जग्गा र सुन खरिद गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

आयोगको आरोपअनुसार निर्माण सेवा प्रालिले एकल वा संयुक्त उपक्रममा रही पुरातत्व विभागसँग गरेको कुल ६४ करोड २१ लाख ८९ हजार रुपैयाँ बराबरको ठेक्कामध्ये चार करोड २२ लाख ७५ हजार ९ सय ८५ रुपैयाँ घुस लिएको पाइएको छ।

भ्रष्टाचारबाट आर्जित उक्त रकम आपसी मिलेमतो र योजनामा जग्गा तथा सुन खरिद गर्न र विभिन्न व्यक्तिलाई भुक्तानी दिन प्रयोग गरिएको आयोगको ठहर छ। गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउने, रूपान्तरण गर्ने र हस्तान्तरण गर्ने गराउने कार्यलाई अख्तियारले गैरकानुनी कार्यको संज्ञा दिएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पूर्व इन्जिनियर श्रेष्ठ र सहायक पथप्रदर्शक अधिकारीविरुद्ध समान चार करोड २२ लाख ७५ हजार ९ सय ८५ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button