‘विद्यार्थी सङ्गठन खारेजी अधिनायकवादी प्रवृत्ति’ : नेता खड्काको आपत्ति, फिर्ता नभए आन्दोलनको चेतावनी

काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विद्यार्थी सङ्गठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। मङ्गलबार विज्ञप्ति जारी गर्दै उनले उक्त निर्णय लोकतान्त्रिक मूल्य मान्यता विपरीत र अधिनायकवादी प्रवृत्ति भएको बताएका छन्।
नेता खड्काले नेपालको राजनीतिक इतिहासमा विद्यार्थी आन्दोलनको महत्त्वपूर्ण भूमिका रहेको र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आइपुग्दा विद्यार्थीहरूको योगदान अविस्मरणीय रहेको उल्लेख गरेका छन्। निर्दलीय पञ्चायती व्यवस्थाका बेला राजनीतिक दलमाथि प्रतिबन्ध लागेको अवस्थामा विद्यार्थी सङ्गठनहरूले नै लोकतन्त्रको पक्षमा जनचेतना फैलाएको उनले स्मरण गराए।
विसं २०३६/३७ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलन तथा २०६२/६३ को ऐतिहासिक आन्दोलनमा विद्यार्थीहरूको सक्रिय सहभागिताले वर्तमान राजनीतिक व्यवस्था स्थापना सम्भव भएको उनको भनाइ छ।
नेता खड्काले वर्तमान सरकारले लोकतान्त्रिक स्वतन्त्रताको उपयोगबाट उदाएका युवा नेतृत्व बालेन शाहलाई स्थापित गर्ने वातावरण निर्माण गरेको अवस्थामा सोही सरकारले विद्यार्थी सङ्गठनमाथि प्रहार गर्नु विरोधाभाषपूर्ण रहेको टिप्पणी गरेका छन्। उनले विद्यार्थी सङ्गठनलाई केवल राजनीतिक आस्थासँग जोडिएका संस्था मात्र नभई शैक्षिक क्षेत्रका विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउने वैधानिक निकायका रूपमा चित्रण गरेका छन्।
नेता खड्काले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन र विद्यार्थी सङ्गठनहरूको गरिमा कायम राख्न आग्रह गर्दै अन्यथा लोकतन्त्रको रक्षाका लागि विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिन सक्ने चेतावनी समेत दिएका छन्।





