साढे पाँच घन्टे गृह बैठक : उच्च सुरक्षा अधिकारीसँग छलफलपछि गृहमन्त्रीको ‘कारबाही नरोकिने’ सन्देश

काठमाठौं — गृहमन्त्री सुधन गुरुङले मङ्गलबार गृह मन्त्रालयमा उच्च सुरक्षा अधिकारीहरूसँग करिब साढे पाँच घण्टा लामो छलफल गरेका छन्। प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की र काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललगायतका सुरक्षा अधिकारीसँग मन्त्रालयमा भएको छलफल केही प्रकरणको फाइल खोल्दै उच्च तहका व्यक्तिलाई पक्राउ गर्ने तयारीसँग केन्द्रित रहेको गृह स्रोतले जानकारी दिएको छ।
लामो समयदेखि लाखौंको सेयर गुपचुप राखेको आरोपपछि दबाब झेलिरहेका गृहमन्त्री गुरुङले बैठकपश्चात राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाड्नेहरूले नै आफूमाथि मिडिया ट्रायल र प्रायोजित हल्ला फैलाएको आक्रोश पोखेका थिए। उनले आफूविरुद्ध जेसुकै भए पनि कारबाही प्रक्रिया नरोकिने चेतावनी दोहोर्याएका छन्।
बैठकमा समसामयिक सुरक्षा स्थिति, आगामी दिनमा गरिने सम्भावित कारबाहीको मोडालिटी तथा उच्च राजनीतिक वृत्तसम्म पुग्न सक्ने संवेदनशील अनुसन्धानका विषयमा छलफल भएको बुझिएको छ।





