९ बैशाख २०८३, बुधबार

बसपार्कभित्रैबाट मात्र बस सञ्चालन गर्न महानगरको तीन दिने अल्टिमेटम

काठमाडौं — काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत रूपमा यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न बस कम्पनीहरूलाई अन्तिम तीन दिनको समयसीमा दिएको छ। गएको चैत २५ गते सार्वजनिक सूचना जारी गरी लामो तथा छोटो दूरीका बस सेवा बसपार्कभित्रबाट मात्र सञ्चालन गर्न आग्रह गरिएको थियो। सूचनालाई अवज्ञा गर्ने कम्पनीहरूलाई तीन दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम मौका दिइएको महानगरकी कार्यवाहक मेयर सुनिता डङ्गोलले बताइन्।

यातायात आवागमनको सहजता र सहरी सुरक्षासँग जोडिएको यस विषयमा कामपाले नेपाल प्रहरीसँग समन्वय गरी संयुक्त अनुगमन टोली गठन गर्ने निर्णय गरेको छ। महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई नेपाल प्रहरीसँगको समन्वयमा अनुगमन तथा नियमनका लागि एकीकृत कार्यप्रणाली तयार गर्न कार्यवाहक मेयर डङ्गोलले निर्देशन दिएकी छन्।

“बसपार्कको समस्यासँगै ठमेललगायत रात्रिकालीन व्यवसाय सञ्चालन हुने क्षेत्रका बासिन्दाले ध्वनि प्रदूषण, स्पालगायत व्यवसायमा हुने अवाञ्छित गतिविधि र छात्रावास सञ्चालकहरूबाट हुने समस्याका गुनासा गर्दै आएका छन्,” डङ्गोलले भनिन्, “नेपाल प्रहरी र महानगर प्रहरी बलले आ–आफ्ना क्षेत्राधिकारभित्र रहेर संयुक्त रूपमा अनुगमन गरेमा व्यवस्थापनमा देखिने गरी नतिजा आउनेछ।”

सोही विषयमा अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले सहरी सुरक्षालाई जनशक्तिभन्दा पनि प्रविधिमार्फत निगरानी बढाउँदै लैजानुपर्ने धारणा राखे। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले सडक सङ्केत र सडक अनुशासन पालनाका लागि महानगर र ट्राफिक प्रहरीबीच समन्वयात्मक कार्यक्रम आवश्यक रहेको बताए।

प्रहरी तथ्याङ्कअनुसार काठमाडौंबाट दैनिक औसत ७०० वटा सार्वजनिक यातायातका साधन बाहिरिन्छन्। तीमध्ये करिब ३५० वटा सवारीले बसपार्कबाहिरै पार्किङ गर्ने, यात्रु चढाउने तथा ओराल्ने गर्दै आएका छन्। हाल बसपार्कबाट दैनिक औसत ३४० वटा गाडी मात्र आवागमन गर्छन्। १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ७५० वटासम्म सवारीसाधन व्यवस्थापन गर्न सकिने क्षमता रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button