वाम एकताको ‘ऐतिहासिक आवश्यकता’ दोहोर्याउँदै प्रचण्ड

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा बुधबार एक विज्ञप्ति जारी गर्दै नेकपा (एकीकृत समाजवादी) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीचको एकतामा जोड दिएका छन्।
विज्ञप्तिमा प्रचण्डले भनेका छन्, “समाजमा विभेद रहँदासम्म कम्युनिस्ट पार्टीको औचित्य रहिरहनेछ।” उनले वर्तमान विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक र फासिस्ट दिशातिर अगाडि बढिरहेको सन्दर्भमा महान् लेनिनका शिक्षा र आदर्श अझ सान्दर्भिक भएको उल्लेख गरे।
“यस परिस्थितिमा नेपाली क्रान्तिलाई अगाडि बढाउँदै सबै खाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको छ,” प्रचण्डको भनाइ छ।
प्रचण्डको यो अभिव्यक्ति त्यस्तो बेला आएको छ जब नेपालको कम्युनिस्ट आन्दोलन विभिन्न धार र टुक्रामा विभाजित छ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सरकारी सहकार्य रहे पनि आन्तरिक टकराव कायमै छ। प्रचण्डको पछिल्लो ‘वाम एकता’ को आह्वानले निकट भविष्यमा कम्युनिस्ट शक्तिहरूबीच नयाँ समीकरण बन्ने सम्भावनालाई संकेत गरेको छ।





