९ बैशाख २०८३, बुधबार

पूर्वी सिक्किममा हिमपात : सेना, प्रहरी र जिआरइएफको संयुक्त उद्धार

गान्तोक, – पूर्वी सिक्किमको उच्च भेगमा सोमबार अप्रत्याशित रूपमा भएको भारी हिमपातका कारण जवाहरलाल नेहरू मार्ग अक्षमा लामो ट्राफिक जाम फँसेका पर्यटक तथा स्थानीय वृद्धवृद्धाहरूको भारतीय सेना, सीमा सडक सङ्गठन, सिक्किम प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा सकुशल उद्धार गरिएको छ।

जारी विज्ञप्तिअनुसार अचानक भारी हिमपात सुरु भएपछि साँघुरो पहाडी सडकमा सवारीसाधनको लामो लर्को लागेको थियो भने चिसो र अक्सिजनको कमीले पर्यटक तथा ज्येष्ठ नागरिकहरू समस्यामा परेका थिए। भारतीय सेनाको त्रिशक्ति कोरका जवानहरूले तत्काल घटनास्थल पुगी जिआरइएफको मेसिनरी तथा प्रहरीको व्यवस्थापनमा बाटो खुलाउने कार्य सुरु गरेका थिए।

सेनाका प्रवक्ताका अनुसार उद्धार टोलीले पहिलो चरणमा फँसेका सवारीसाधनबाट करिब पाँच दर्जन बढी वृद्धवृद्धा र बालबालिकालाई सुरक्षित स्थानमा सारेको थियो। सोही क्रममा जवानहरूले चिसोले कठ्याङ्ग्रिएका पर्यटकहरूलाई तातो चिया र खानाको व्यवस्था समेत गरेका थिए। “स्थानीय गाउँलेहरूले पनि आफ्नो घरको ढोका खोलेर यात्रुहरूलाई आश्रय दिए,” स्थानीय प्रशासनले जनाएको छ।

जिआरइएफको टोलीले स्नो कटरको सहायताले एक घण्टाभन्दा कम समयमै जमेको हिउँ हटाई सडकमा गिट्टी बिछ्याएपछि यातायात सुचारु भएको हो। सिक्किम प्रहरीले जाम व्यवस्थापन गर्दै एकतर्फी यातायात सञ्चालनको प्रबन्ध मिलाएपछि साँझसम्ममा अवस्था पूर्ण सामान्य बनेको जनाइएको छ। त्रिशक्ति कोरले विज्ञप्तिमार्फत “सङ्कट टार्न तथा महत्त्वपूर्ण जीवनरेखा खुला राख्न सबै पक्षले देखाएको तीव्र तत्परता र एकताको प्रशंसा” गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button