९ बैशाख २०८३, बुधबार

तुमन्नाया नदीमाथि रुस–उत्तर कोरिया मोटरेबल पुलको स्पान जोडियो, यही गर्मीदेखि आवागमन खुल्ने

खासान सीमा क्षेत्र – रुस र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (उत्तर कोरिया) बीचको सिमानामा बग्ने तुमन्नाया नदीमाथि निर्माणाधीन मोटरेबल पुलको स्पान (पुलका खण्ड) जोड्ने औपचारिक समारोह सम्पन्न भएको छ। यससँगै दुई देशबीच पहिलो पटक सडक यातायात सञ्चालन हुने भएको छ। हाल यी दुई मुलुकबीच रेलमार्ग मात्र सञ्चालनमा रहेको छ।

सन् २०२५ को अप्रिल ३० मा रुसी प्रधानमन्त्री मिखाइल मिसुस्तिन र उत्तर कोरियाली मन्त्रिपरिषद्का अध्यक्ष पाक थे सङले संयुक्त रूपमा यस पुलको शिलान्यास गरेका थिए। पुल निर्माण स्थलमा एक वर्षभन्दा कम अवधिमै जटिल प्राविधिक चरणहरू पूरा गरिएको रुसी पक्षले जनाएको छ।

तुमन्नाया नदी माथिको यस पुल आयोजनाको कुल लम्बाइ झण्डै ५ किलोमिटर रहेको छ, जसमध्ये करिब १ किलोमिटर भाग सिधा पुलको संरचना हो। यसको निर्माणका लागि ५ हजार टनभन्दा बढी धातुका संरचना र ९ हजार घनमिटरभन्दा बढी कंक्रिट प्रयोग गरिएको छ, जसले उच्चतम सुरक्षा मापदण्ड सुनिश्चित गर्ने अधिकारीहरूले बताएका छन्। निर्माणकर्ताहरूले एक वर्षको अवधिमै पिलर निर्माणदेखि लिएर स्पान जोड्ने जटिल कार्य सम्पन्न गरेका हुन्। आगामी गर्मी याममै यस पुलमा अस्थायी रूपमा कामचलाउ आवागमन सुरु गर्ने योजना रहेको छ।

रुसी यातायातमन्त्री आन्द्रेइ निकितिनले यस आयोजनाको रणनीतिक महत्त्व रहेको बताए। उनले भने, “स्पान संरचनाहरूको जोडाइ साँच्चिकै महत्त्वपूर्ण घटना हो। यो पुल उत्तर कोरियासँगको हाम्रो सहकार्यको केन्द्रीय परियोजनामध्ये एक हो। नयाँ मोटरेबल पुल सञ्चालनमा आएपछि दुईपक्षीय व्यापारको मात्रा बढाउन, आपूर्ति शृङ्खला सहज बनाउन, सांस्कृतिक सम्बन्ध सुदृढ गर्न र सीमावर्ती क्षेत्रहरूलाई गतिशील आर्थिक केन्द्रमा रूपान्तरण गर्न सहयोग पुग्नेछ।”

रुस–उत्तर कोरिया अन्तरसरकारी आयोगका सह–अध्यक्ष एवं प्राकृतिक स्रोत तथा पारिस्थितिकीमन्त्री आलेक्सान्दर कोज्लोभले यो परियोजना धेरै वर्षको तयारीपछि मूर्त रूप लिएको बताए। उनका अनुसार गत वर्ष दुई देशबीच यात्रुवाहक रेल सेवा पुनः सञ्चालन गरिएको थियो भने पहिलो पटक मस्को–प्योङयाङ सिधा हवाई उडान पनि सुरु गरिएको थियो।

पुल नजिकैको क्षेत्रमा राष्ट्रिय परियोजना ‘प्रभावकारी यातायात प्रणाली’ अन्तर्गत १० लेनको आधुनिक ‘खासान’ सीमा नाका निर्माण भइरहेको छ। उक्त नाकाले दैनिक ३ सय सवारी साधनलाई सेवा दिन सक्ने क्षमता राख्ने बताइएको छ। साथै, मस्को र प्योङयाङबीचको नियमित हवाई उडानको भार वृद्धि गर्ने र रुसी विश्वविद्यालयहरूमा उत्तर कोरियाली नागरिक उड्डयनका लागि विशेषज्ञ जनशक्ति तयार पार्ने कार्य पनि भइरहेको मन्त्री कोज्लोभले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button