‘लाओस-चीन मैत्री वर्ष’ मा द्विपक्षीय सम्बन्धको नयाँ अवसर : परराष्ट्रमन्त्री वाङ

बेइजिङ — चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले सन् २०२६ चीन र लाओसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औं वार्षिकोत्सव तथा ‘चीन–लाओस मैत्री वर्ष’ भएकाले द्विपक्षीय सम्बन्धको विकासका लागि महत्त्वपूर्ण अवसर प्रस्तुत भएको बताएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य समेत रहेका वाङले सोमबार (वैशाख ८) लाओ जनक्रान्तिकारी पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्रपति थोङलुन सिसोलिथको विशेष दूतका रूपमा चीन भ्रमणमा आएका लाओसका उपप्रधानमन्त्री सालेउम्क्साइ कोम्मासिथसँग बेइजिङमा भेटवार्ता गरेका हुन्।
वाङले उपप्रधानमन्त्री सालेउम्क्साइलाई स्वागत गर्दै उक्त भ्रमणले चीन–लाओस साझा भविष्य समुदायको उच्च स्तरलाई पूर्ण रूपमा प्रतिबिम्बित गर्ने र दुई पक्षबीचको रणनीतिक आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

दुई पक्षबीच अन्तरसरकारी संस्थागत संवादलाई सुदृढ बनाउन, चीन–लाओस रेलमार्गको सम्पर्क सञ्जालको गुणस्तर र दक्षता अभिवृद्धि गर्न, चीन–लाओस आर्थिक करिडोरको स्तरोन्नतिका लागि संयुक्त रूपमा कार्य गर्न र क्षेत्रीय सम्पर्क सञ्जाल प्रवर्द्धनमा थप ठोस उपलब्धि हासिल गर्न परराष्ट्रमन्त्री वाङले आह्वान गरे।
चीनले आफ्नो सामर्थ्य प्रयोग गरी लाओससँग विकास रणनीतिहरूको तादम्यता मिलाउने, खानी, विद्युत्जस्ता क्षेत्रमा सम्पूर्ण औद्योगिक शृङ्खलासहितको सहकार्य प्रवर्द्धन गर्ने, मानव संशाधन विकासलाई गहिरो बनाउने र लाओसको आर्थिक रूपान्तरण तथा औद्योगिक विकासमा सहयोग गर्ने वाङले प्रतिबद्धता व्यक्त गरे।
भेटवार्ताका क्रममा लाओसका उपप्रधानमन्त्री तथा लाओ जनक्रान्तिकारी पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य सालेउम्क्साइले चीनसँग उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निकट राख्न, कूटनीतिक सम्बन्धको ६५औं वार्षिकोत्सवका कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न र सम्पर्क सञ्जाल, ऊर्जा तथा खानीजस्ता क्षेत्रमा सहकार्यलाई गहिरो बनाउन लाओस इच्छुक रहेको बताए।
प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा चीनको अडान र भूमिकाको प्रशंसा गर्दै सालेउम्क्साइले चीनसँग समन्वय र सहकार्यलाई सुदृढ बनाउन लाओस तयार रहेको धारणा राखे।





