चन्द्रमामा हरितगृह निर्माण गर्ने चिनियाँ योजना, चन्द्र रातको चिसो सामना गर्न रोभरलाई सहजता

बेइजिङ — चिनियाँ चन्द्र अन्वेषण टोलीले चन्द्रमाको सतहमा हरितगृह (ग्रीनहाउस) निर्माण गरी अनुसन्धान गर्ने योजना अघि सारेको छ। चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) का वरिष्ठ अन्तरिक्ष इन्जिनियर वाङ छ्योङले मङ्गलबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्।
चन्द्रमाको सतह निर्माण प्रविधिको उपयोग गर्दै रोभर तथा रोबोटहरूलाई चन्द्र रातको कठोर अवस्था सहन सजिलो बनाउने उद्देश्यले यस्तो हरितगृह बनाउने योजना रहेको सीएनएसएको चन्द्र अन्वेषण तथा अन्तरिक्ष कार्यक्रम केन्द्रका अनुसन्धानकर्ता वाङले बताए।
चन्द्रमामा एक रात १४ पृथ्वी दिन बराबरको हुन्छ र तापक्रम माइनस २०० डिग्री सेल्सियससम्म झर्छ, जसले गम्भीर चुनौती खडा गर्छ। चन्द्र अन्वेषण दीर्घकालीन बसाइतर्फ अघि बढिरहेका बेला चन्द्र सतहमा रहेको यस्तो हरितगृह उपयोगी सावित हुने वाङको विश्वास छ।
चाङअ–६ मिसनका उपप्रमुख डिजाइनर समेत रहेका वाङका अनुसार चाङअ–६ ले ल्याएका नमुनाहरूको अध्ययन गरेर चिनियाँ वैज्ञानिकहरूले महत्त्वपूर्ण वैज्ञानिक सफलताहरूको शृङ्खला हासिल गरेका छन्, जसले पहिलो पटक चन्द्रमाको दूरवर्ती भागको विकासक्रमसम्बन्धी इतिहास उजागर गरेको छ।
सन् २०२४ को जुन २५ मा चाङअ–६ यानको फिर्ता मोड्युल उत्तरी चीनमा अवतरण भएको थियो, जसले मानव इतिहासमै पहिलो पटक चन्द्रमाको दूरवर्ती भागबाट १ हजार ९ सय ३५ दशमलव ३ ग्राम नमुना पृथ्वीमा ल्याएको थियो।
यस मिसनले पाकिस्तानको क्युबस्याट र फ्रान्स, युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) तथा इटालीका तीनवटा वैज्ञानिक उपकरणहरू पनि सँगै लगेको थियो, जसले अपेक्षाभन्दा बढी अन्वेषण नतिजा हासिल गरेको वाङले जानकारी दिए।





