९ बैशाख २०८३, बुधबार

इजरायल र लेबनानबीच वासिङ्टनमा राजदूतस्तरीय दोस्रो चरणको वार्ता हुने

वासिङ्टन डिसी — इजरायल र लेबनानबीच अमेरिकी विदेश मन्त्रालयमा राजदूतस्तरीय दोस्रो चरणको वार्ता हुने भएको छ। अमेरिकी सञ्चारमाध्यमले मङ्गलबार यो जानकारी दिएका हुन्।

वार्तामा इजरायल र लेबनान दुवै पक्षको प्रतिनिधित्व उनीहरूका सम्बन्धित अमेरिकास्थित राजदूतहरू येहिएल लाइटर र नादा हमादेह मोआवादले गर्नेछन्।

इरानविरुद्ध अमेरिका र इजरायलबीच जारी युद्धकै क्रममा सीमापार लडाइँ तीव्र भएपछि इजरायल र लेबनानबीच बिहीबार र शुक्रबारको मध्यरातदेखि लागू हुने गरी १० दिने युद्धविराम सहमति भएको थियो। तर, लेबनानको दक्षिणी सीमानामा तनाव जारी रहेकाले यो युद्धविराम कमजोर अवस्थामा रहेको छ।

लेबनानको आधिकारिक राष्ट्रिय समाचार समितिका अनुसार युद्धविराम जारी रहे पनि इजरायली सेनाले मङ्गलबार बिहानै दक्षिणी लेबनानमा सञ्चालन तीव्र बनाएको छ। इजरायली सेनाले व्यापक रूपमा भत्काउने कार्य गरेको, हवाई निगरानी बढाएको र खाली गर्ने चेतावनीहरू जारी गरेको समाचार समितिले जनाएको छ।

इजरायल र लेबनानबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको छैन। इजरायलले लामो समयदेखि हिजबुल्लाहलाई इरानको ‘छद्म सेना’ का रूपमा हेर्दै आएको छ। इजरायलसँग वार्ता गर्ने पक्ष लेबनानी सरकार हो, हिजबुल्लाह होइन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button