९ बैशाख २०८३, बुधबार

राष्ट्र बैंकले फेरि ४० अर्ब तान्ने, १६० दिनका लागि निक्षेप संकलन उपकरण प्रयोग हुने

काठमाडौँ — नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न पुनः निक्षेप संकलन उपकरण (डिपोजिट कलेक्सन इन्स्ट्रुमेन्ट) प्रयोग गर्ने भएको छ। केन्द्रीय बैंकले १६० दिनका लागि ४० अर्ब रुपैयाँ खिच्न लागेको हो।

पछिल्लो समय कर्जाको माग नबढ्दा बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको छ। बैंक तथा वित्तीय संस्थाहरू हाल ३ प्रतिशतको हाराहारीमा ब्याजदरमा केन्द्रीय बैंकलाई पैसा दिइरहेका छन्। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेको ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकमलाई प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।

ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ हुनेछ भने अधिकतम भने ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म कायम हुनेछ। उक्त १६० दिने निक्षेप संकलन उपकरणको आउँदो असोज २१ गते साँवा तथा ब्याज भुक्तानी गरिनेछ।

केन्द्रीय बैंकको खुला बजार कारोबार कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन र बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button