९ बैशाख २०८३, बुधबार

ढोरपाटनमा दादुरा नियन्त्रणतर्फ, १४ जनामा सङ्क्रमण पुष्टि, ६ हजार बालबालिकालाई खोप

बागलुङ — गत फागुन ८ गतेदेखि ढोरपाटन नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ। विश्व स्वास्थ्य सङ्गठन, प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीको संयुक्त टोलीले सङ्क्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरी खोप अभियान सञ्चालन गरेको थियो।

फागुन २९ गतेदेखि चैत २ गतेसम्म सो क्षेत्रका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाइएपछि सङ्क्रमण नियन्त्रणमा आउन थालेको हो। खोप अभियानअघि दैनिक १० देखि १५ जना दादुराका शङ्कास्पद बिरामी अस्पताल आउने गरेकामा पछिल्लो आठ दिनमा मङ्गलबार मात्र निसीखोला गाउँपालिकाका एक जना शङ्कास्पद बिरामी बुर्तिबाङ अस्पतालमा भर्ना भएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए।

हालसम्म २३९ जना शङ्कास्पद बिरामी परेका थिए। तीमध्ये ३४ जनाको नमूना परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। प्रयोगशाला प्रतिवेदनअनुसार १४ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको प्रमुख शर्माको भनाइ छ।

हालसम्म १० देखि १९ वर्ष उमेर समूहका ६ हजार १ सय ४० जना बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए। उनका अनुसार हालसम्म एक जनाबाहेक सबै शङ्कास्पद बिरामी निको भइसकेका छन्। स्थानीय स्वास्थ्य संयन्त्रले दादुरा पूर्ण रूपमा नियन्त्रण नभएसम्म अनुगमन जारी राख्ने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button