९ बैशाख २०८३, बुधबार

नेपाल–रुस कूटनीतिक सम्बन्धको ७० वर्ष : विकास, शिक्षा र जनस्तरको साझेदारी

काठमाडौँ — नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव राजधानीको रुसी हाउसमा एक उच्चस्तरीय छलफलकाबीच मनाइएको छ। कार्यक्रमले दुई देशबीचको द्विपक्षीय सम्बन्धको ऐतिहासिक गहिराइ र भविष्यको दिशालाई उजागर गरेको छ।

कार्यक्रममा नेपालका पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, परराष्ट्र मन्त्रालयका सहसचिव (युरोप महाशाखा) गणेशप्रसाद ढकाल, रुसी राजदूतावासका कार्यवाहक राजदूत रिन्चेन रक्सायेव, नेपालका लागि रुसका पूर्व राजदूत हिरन्यलाल श्रेष्ठको उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व नेपाल–रुस मैत्री तथा सांस्कृतिक सङ्घका महासचिव स्वराज शाक्यले गरेका थिए।

कार्यक्रमले औपचारिक सम्बन्धको मात्र समीक्षा नगरी विकास सहकार्य, शिक्षा र बढ्दो जनकूटनीतिबाट आकार लिँदै गरेको साझेदारीका रूपमा यस ७० वर्षे सम्बन्धलाई चित्रण गरेको थियो। वक्ताहरूले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सहकार्य राज्यस्तरीय संलग्नताभन्दा पर गई पूर्वाधार, जलविद्युत, स्वास्थ्य र जनशक्ति विकासमा ठोस योगदान पुगेको बताए।

रुसी हाउसकी अनास्तासिया खोख्लोभाले उद्घाटन मन्तव्यमा भनिन्, “नेपाल–रुस सम्बन्धको बल कूटनीतिक निरन्तरतामा मात्र नभई हाम्रा जनतालाई पुस्तौंदेखि जोड्दै आएको दिगो सांस्कृतिक तथा शैक्षिक आदानप्रदानमा निहित छ।”

कार्यक्रमको केन्द्रिय विषय परराष्ट्र मन्त्रालयका सहसचिव ढकालले प्रस्तुत गरेको भविष्यमुखी परिप्रेक्ष्य थियो। उनले नेपालको निर्वाचन पश्चातको सन्दर्भमा अन्तर्राष्ट्रिय साझेदारीबाट राष्ट्रिय विकासका प्राथमिकता – पूर्वाधार, शिक्षा, प्रविधि हस्तान्तरण र क्षमता निर्माणमा सहयोग खोज्ने अपेक्षा राखे। उनले जनस्तरको सम्बन्ध र जनकूटनीतिलाई बलियो बनाउन रुसी हाउसको भूमिकाको प्रशंसा गर्दै विशेषगरी नेपाली विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तिको महत्त्व उल्लेख गरे।

पूर्व परराष्ट्रमन्त्री पाण्डेले सम्बन्धको ऐतिहासिक सामर्थ्यलाई आधुनिकीकरणको आवश्यकतासँग जोड्दै भने, “राष्ट्रहरूबीचको वास्तविक मैत्री औपचारिक सम्झौतामा होइन, जनताको आकांक्षासँगको निरन्तर सान्दर्भिकतामा परीक्षण हुन्छ।”

कार्यक्रमभरि जनस्तरको कूटनीतिलाई विशेष जोड दिइएको थियो। सुगतरत्न कंसकारले पर्यटन र सांस्कृतिक सम्पर्कलाई अहिलेसम्म कम प्रयोग भएको सहकार्यको स्तम्भको रूपमा चित्रण गरे। सम्भावित प्रत्यक्ष हवाई सम्पर्कको सहयोगले रुसी पर्यटकको संख्या बढाउन सकिने र यसले द्विपक्षीय सम्बन्धलाई थप दृश्यात्मक र आर्थिक रूपमा लाभदायक बनाउन सक्ने उनको भनाइ थियो।

कार्यवाहक राजदूत रक्सायेवले समानता, पारस्परिक सम्मान र गैरहस्तक्षेपको सिद्धान्तले दुवै देशको सम्बन्धलाई मार्गदर्शन गरिरहेको पुष्टि गरे। उनले विकासका प्रमुख क्षेत्रहरूमा रुस र नेपालबीचको लामो सहकार्यको स्मरण गराए।

यस छलफलले ७०औँ वार्षिकोत्सवलाई विगतको समीक्षामात्र नभई द्विपक्षीय सम्बन्धलाई पुनः परिभाषित गर्ने रणनीतिक क्षणका रूपमा प्रस्तुत गरेको छ। शिक्षा, युवा आदानप्रदान, पर्यटन र सांस्कृतिक सहकार्यमा साझा प्राथमिकताले नेपाल–रुस सम्बन्धलाई जनकूटनीतिद्वारा संचालित र नेपालको विकास महत्वाकांक्षासँग मिल्ने गतिशील साझेदारीमा विकसित हुने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button