नेविसंघको माग : प्रहरी हिरासतमा रहेका विद्यार्थी नेताहरूलाई बिनाशर्त रिहा गर

काठमाडौँ — नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रहरी हिरासतमा रहेका आफ्ना विद्यार्थी नेताहरूलाई बिनाशर्त रिहा गर्न माग गरेको छ। आफ्ना नेताहरूको पक्राउप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै नेविसंघले उनीहरूको तत्काल रिहाइको माग गरेको हो।
नेविसंघले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनका क्रममा पक्राउ गर्नु लोकतान्त्रिक शासनको मूल्यमान्यताविपरीत भएको ठहर गरिएको छ। संविधानले प्रदान गरेको अधिकारको प्रयोग गर्ने क्रममा पक्राउ गरेर हिरासतमा राख्नु कानुनविपरीत भएको उल्लेख गर्दै नेविसंघले दमनमार्फत नभई संवाद र सहकार्यमार्फत समस्या सम्बोधन गर्नुपर्ने धारणा राखेको छ।
विज्ञप्तिमा भनिएको छ, “अधिकारहरूको प्रयोगका क्रममा नागरिकलाई पक्राउ गरी थुनामा राख्ने कार्यले लोकतन्त्रको आधारभूत मूल्य, विधिको शासन तथा नागरिक स्वतन्त्रताको प्रत्याभूतिमाथि गम्भीर प्रश्न खडा गर्दछ। असहमतिलाई नियन्त्रण गर्ने र दमन गर्ने सरकारको यस्तो शैली लोकतान्त्रिक मान्यता एवं संविधानको मर्मविपरीत छ।”
सिंहदरबारबाहिर प्रदर्शनका क्रममा प्रहरीले हिजो नेविसंघका केन्द्रीय सदस्य भुवन भट्ट, विद्यार्थी नेता कुम्भराज देउवा, नविन विष्ट, आकाश देवकोटा, सुशील ऐडी, विशाल बिसी लगायतलाई नियन्त्रणमा लिएको थियो। नेविसंघले उनीहरूको रिहाइका लागि दबाब बढाउँदै आफ्नो कार्यक्रम थप तीव्र बनाउने संकेत गरेको छ।





