सहकारी सुधारका लागि मन्त्री रावल र चार्टर्ड एकाउन्टेन्टबीच छलफल, बचत फिर्ताको मोडालिटीमा राय सङ्कलन

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रको सुधारका लागि चार्टर्ड एकाउन्टेन्टहरूसँग छलफल गरेकी छन्।
मन्त्री रावलले बुधबार मन्त्रालयमा सहकारी नियमनकारी निकायका पदाधिकारी तथा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) का पदाधिकारीहरूसँग सहकारी संस्थाहरूमा देखिएका अनियमितता, अपारदर्शिता र वित्तीय अनुशासनको अभाव सुधार गर्ने विषयमा छलफल गरेकी हुन्।
सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउन चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै मन्त्री रावलले सुधारका लागि उनीहरूले भूमिका निर्वाह गर्न आग्रह गरिन्। उनले सहकारी समस्या समाधानका लागि भइरहेको छलफलको योजनामा सहयोग गर्न पनि आग्रह गरिन्।
मन्त्रालयले निकट भविष्यमै बचतकर्ताको रकम फिर्ता सुरु गर्न लागेको सन्दर्भमा बचत फिर्ताको मोडालिटीका विषयमा पनि मन्त्री रावलले छलफलमा राय लिएको थियो।
छलफलमा सहभागी चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष निलबहादुर सारू मगरसहितका सदस्यहरूले सहकारी क्षेत्रमा देखिएका चुनौती समाधान गर्न आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्रालयलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए।
मन्त्री रावलसँगको छलफलमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष खगराज शर्मा, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्य लगायतका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो।
नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका तर्फबाट अध्यक्ष सारू मगरसहित आनन्दराज शर्मा वाग्ले, उमेशराज पाण्डे, अमन उप्रेती, हेमकुमार काफ्ले, हरिकुमार सिल्वाल, सुनिल देवकोटा, पीयुष आनन्द, भरतकुमार श्रेष्ठ, कलमणी लम्साल, प्रदीपकुमार यादव, कार्यकारी निर्देशक विमल डंगोल, निर्देशक किरणकुमार खत्री र सहनिर्देशक अस्मिता ढकालको सहभागिता रहेको थियो।





