९ बैशाख २०८३, बुधबार

नेता ज्ञवालीको आरोप : सरकार सुरुवातदेखि नै प्रतिशोधी र प्रचारमुखी बन्यो

कावासोती — नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार सुरुवाती चरणबाटै राजनीतिक प्रतिशोधी र प्रचारमुखी भएको आरोप लगाएका छन्।

प्रेस चौतारी नवलपुरले बुधबार कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेको बताए। सरकारलाई १ सय दिनको हनिमुन अवधिमा आलोचना नगर्ने राजनीतिक अभ्यास रहे पनि सरकारको कार्यशैली प्रतिशोधी भएकाले सुरुवाती चरणमै आलोचित हुनुपरेको उनले बताए।

आफ्नो योजनाभन्दा पनि शक्तिकेन्द्रको निर्देशनमा वर्तमान सरकारले काम गरेको ज्ञवालीको जिकिर थियो। चुनावमा एमालेको पराजयको विषयमा पार्टीले गम्भीर भएर समीक्षा गरिरहेको बताउँदै उनले पराजयको कारण पत्ता लगाएर पार्टी सुदृढीकरणमा लागिपर्ने धारणा राखे।

नेतृत्व परिवर्तनसम्बन्धी पत्रकारको प्रश्नमा ज्ञवालीले नेता परिवर्तन मात्र नभई समग्र पार्टीलाई नै परिमार्जनसहित अगाडि बढाउनुपर्ने अडान राखे। यस अभिव्यक्तिले एमालेभित्रको आन्तरिक असन्तुष्टि र संगठन पुनरावलोकनको आवश्यकतालाई संकेत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button