९ बैशाख २०८३, बुधबार

दुई दशकपछि रक्सौलमा नेपालतर्फको कार्गो सेवा सुचारु, उद्योगी खुसी

वीरगन्ज — दुई दशकदेखि बन्द रहेको वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलस्थित रेल्वे स्टेसनको यार्डबाट नेपालतर्फको कार्गो ह्यान्डलिङ सेवा बुधबारदेखि सुचारु भएको छ। भारतीय रेल्वेको भगिनी संस्था कोनकोरले सोमबारदेखि उक्त सेवा नेपालका लागि पुनः सञ्चालनमा ल्याएको हो।

पर्सा-बारा औद्योगिक करिडोरस्थित जगदम्बा इन्टरप्राइजेजले भारतको झारखण्डस्थित जमशेदपुर टाटानगरबाट आयात गरेको ९० कन्टेनर स्पन्ज आइरन कोनकोरले सोझै रक्सौलस्थित रेल्वे स्टेसनको यार्डबाटै हस्तान्तरण गरेको हो।

कोनकोरका अधिकृत विष्णुकान्त चौधरीका अनुसार कोनकोरले आफ्नै रेल्वे ट्र्याक र कन्टेनरबाट ढुवानी सेवा दिएर सोझै रक्सौल रेल्वे स्टेसनमा आयातित वस्तु सम्बन्धित आयातकर्तालाई जिम्मा लगाएको हो। यसरी भारतीय रेल्वे स्टेसनमै नेपाली आयातकर्तालाई जिम्मा लगाइने वस्तु मालवाहक ट्रकबाट ढुवानी गरी नेपाल भन्सार बिन्दुमा प्रवेश गर्नका लागि रक्सौलस्थित भारतीय एकीकृत सुरक्षा जाँच चौकी (ल्यान्ड पोर्ट अथोरिटी) मा ग्रिन च्यानलका लागि नम्बर ४ को डेडिकेटेड लाइन (बाटो र ढोका) उपलब्ध गराइएको छ।

उक्त ट्रक वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा प्रवेश गर्नका लागि चौकीको १० नम्बर लेन उपलब्ध गराइएको छ। यो डेडिकेटेड लेनबाट भारतीय रेल्वे स्टेसनमा नेपाली पक्षले बुझेको आफ्नो मालवस्तु नेपाल ल्याउन सहज र छरितो मार्ग पाएका छन्। अन्य मालवाहक सवारीजस्तै यी सवारीले घण्टौं लाममा बस्नुपर्दैन। जसले गर्दा नेपाली आयातकर्ताले भारतबाट सोझै नेपाली भन्सार बिन्दुमा प्रवेश पाउने र आफ्नो मालवस्तु छिटो पाएर सक्दो छिटो कन्टेनर भारतीय रेल्वेलाई फिर्ता पठाउँदा भारतीय रेल्वे र सिपिङ लाइन कम्पनीहरूलाई तिर्नुपर्ने अतिरिक्त शुल्क पनि जोगिनेछ।

यसरी भारत तथा तेस्रो मुलुकबाट नेपाली आयातकर्ताले आयात गर्ने मालवस्तु सहज रूपमा नेपाल भित्रिने र ढुवानी लागत मूल्य पनि कम हुने भएकाले नेपाली आयातकर्ताले थप राहत पाउने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बताए। उनले भने, “यो स्वागतयोग्य काम हो। नेपाली आयातकर्ताले छिटो आफ्नो मालवस्तु जाँचपास गराएर कन्टेनर फिर्ता गर्न पाउँदा धेरै राहत हुन्छ।”

कोनकोरका अधिकृत चौधरीले पहिलो पटक बुधबार ९० कन्टेनर स्पन्ज आइरन भारतबाटै नेपालका लागि कोनकोरले आफ्नै रेल्वे ट्र्याक र कन्टेनरमा ढुवानी गरी ल्याएको बताउँदै अब नेपाली आयातकर्ताले तेस्रो मुलुकबाट आयात गरेको मालवस्तुको हकमा पनि यस्तो खालको ढुवानी सेवा दिने काम अन्तिम चरणमा रहेको जानकारी दिए। यसले आयात प्रक्रियालाई थप सहज र लागत प्रभावी बनाउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button