सुलभ अग्रवालविरुद्ध सात दिन म्याद थप, दीपक भट्टसहितको अनुसन्धान अगाडि

काठमाडौँ — सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालविरुद्ध सात दिन म्याद थप भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले बुधबार अग्रवालविरुद्ध म्याद थप गर्न आदेश दिएको छ।
अग्रवालसँगै व्यवसायी दीपक भट्टमाथि पनि अनुसन्धान गर्न थप सात दिनको समय दिइएको छ। भट्ट समेत सम्पत्ति शुद्धीकरण कसुरमा २०८२ चैत १९ गते पक्राउ परेका थिए।
शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले चैत २२ मा नियन्त्रणमा लिएको थियो। विभागले अनुसन्धानकै क्रममा सुलभका बाबु शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई काठमाडौंबाट नियन्त्रणमा लिएको थियो। तर उनी भने हाजिरी जमानीमा रिहा भएका छन्।
इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबारको अनुसन्धानका क्रममा शंकर अग्रवाल पक्राउ परेको पर्सिपल्टै छोरा सुलभलाई पनि पक्राउ गरिएको हो।
करोडौंको शंकास्पद आर्थिक कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकले साढे दुई वर्षअघि नै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सबीच भएका वित्तीय कारोबारको अनुसन्धान गर्न विभागलाई पत्र पठाएको थियो। त्यसपछि विभागले पुस २०७९ मा दीपक भट्टसँग प्रारम्भिक बयान लिएको थियो। तर सामान्य छानबिन मात्र गरेर विभागले गत वैशाखमा मुद्दा नचलाई राष्ट्र बैंकलाई उजुरी फिर्ता गरिदिएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि विभागले पुरानो फाइल ब्युँताएर पुनः अनुसन्धान सुरु गरेको थियो। अहिले सोही अनुसन्धानअन्तर्गत सुलभ अग्रवाल र दीपक भट्ट दुवैविरुद्ध अनुसन्धान अगाडि बढेको छ। अदालतको आदेशसँगै अनुसन्धानका लागि थप सात दिने समयावधि तोकिएको हो।





