९ बैशाख २०८३, बुधबार

राजीनामापछि गुरुङको व्यंग्य : ‘जहाँ-जहाँ स्वेट सेयर छ, बिस्तारै आउला’

काठमाडौँ — गृहमन्त्रीबाट राजीनामा दिँदा सुधन गुरुङले सामाजिक सञ्जालमा आफ्नै सभापति रवि लामिछानेलाई झस्काउने शब्द प्रयोग गरेका छन्।

गुरुङले आफ्नो फेसबुकमा लेखेका छन्, “कति मिडियाकर्मी साथीहरूको कहाँ-कहाँ स्वेट सेयर छ, बिस्तारै आउला। रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विभिन्न सहकारीको करोडौं बचत अपचलनमा संलग्न रहेको आरोपमा पहिलेदेखि नै मुद्दा खेप्दै आएका छन्। उनी गोर्खा मिडिया नेटवर्कको १५ प्रतिशत सेयर स्वामित्व भएका व्यक्ति हुन्। ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई नेतृत्वको उक्त मिडियाले सहकारीबाट अवैधानिक रूपमा रकम अपचलन गरेपछि लामिछाने सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको दायरामा छन्।

व्यवसायी दीपक भट्टसँग साझेदारी सेयर रहेको प्रमाण सार्वजनिक भइसक्दा पनि गृहमन्त्रीको भूमिकामा रहेका गुरुङले राजीनामा दिन चाहेका थिएनन्। बरु उनले ‘मिडिया ट्रायल’ र ‘प्रायोजित हल्ला’ भएको टिप्पणी गरेका थिए। तर, पटक-पटक पार्टी सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटपछि उनी राजीनामा दिन बाध्य भए।

राजीनामापछि गुरुङले मुद्दा खेपिरहेका आफ्नै सभापति लामिछानेप्रति इङित गर्दै आम मिडियालाई शाब्दिक प्रहार गरेका छन्।

यसअघि रवि लामिछानेले सुधन गुरुङलाई गृहमन्त्री बन्न रोक्न खोजेका थिए। तर प्रधानमन्त्री बालेन शाहले गुरुङलाई अघि सारेपछि लामिछाने सकारात्मक थिएनन्। बालेनले आफूले निर्णय गरिसकेको जवाफ दिएपछि मात्र लामिछाने मौन बस्न बाध्य भएका थिए।

स्रोतका अनुसार लामिछानेले आफ्नो करिबी दीपक बोहरालाई गृह मन्त्रालय पठाउन चाहेका थिए। तर बालेनले बोहरालाई अस्वीकार गरेपछि सुनिल लम्साल र विक्रम तिमल्सिनासँग छलफल भएको थियो। उनीहरूले पुराना दलका नेताहरूलाई तत्काल पक्राउ गरेर मुद्दा चलाउन आनाकानी गरेपछि बालेन आफैं सुधन गुरुङलाई गृहमन्त्री बनाएर नेताहरू पक्राउ गर्न र सरकारको अभियानलाई तीव्रता दिन तयार भएका थिए। गुरुङको राजीनामापछि अब सरकारको गृह प्रशासन र अभियानले नयाँ मोड लिने संकेत भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button