२६ दिनमै गृहमन्त्री राजीनामा गरी सिंहदरबारबाट बाहिरिए

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले २६ दिनको छोटो कार्यकालपछि राजीनामा दिँदै सिंहदरबारबाट बिदा भएका छन्। उनले राजीनामापछि मन्त्रालयका कर्मचारीलाई धन्यवाद व्यक्त गर्दै सिंहदरबार परिसर छाडेका हुन्।
गुरुङले बिचौलिया दीपक भट्टसँगको व्यापारिक साझेदारी सार्वजनिक भएपछि चौतर्फी दबाबको सामना गर्नुपरेको थियो। आफूमाथि उठेका विवादहरूको निष्पक्ष छानबिनका लागि उनले आजैदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

राजीनामा घोषणापछि उनी सिंहदरबारस्थित गृह मन्त्रालय पुगी कर्मचारीहरूसँग भेटवार्ता गर्दै धन्यवाद ज्ञापन गर्ने क्रममा बाहिरिएका हुन्। यो सँगै उनको २६ दिने गृहमन्त्री कार्यकाल समाप्त भएको छ। गुरुङको राजीनामापछि नयाँ गृहमन्त्रीको टुंगो लगाउन प्रधानमन्त्री बालेन्द्र शाहले छलफल थालिसकेका छन्।





