९ बैशाख २०८३, बुधबार

जेनजीको माग : रवि लामिछानेलाई सांसद पदबाट हटाइयोस्, बालेनमाथि पनि अनुसन्धान होस्

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदबाट हटाउन जेनजी (जनरेशन जी) हरूले माग गरेका छन्। सहकारी ठगीसम्बन्धी गम्भीर मुद्दा लागेका व्यक्ति नैतिक र कानुनी रूपले सांसद पदका लागि योग्य नरहेको निष्कर्षसहित द काउन्सिल अफ जेनजी, रुपन्देहीले यस्तो माग गरेको हो।

काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा रविलाई विधानको धारा ८९ को मर्मअनुसार नैतिकता, पारदर्शिता र सार्वजनिक उत्तरदायित्वका आधारमा सांसद पदबाट मुक्त गरिनुपर्नेमा जोड दिइएको छ। विज्ञप्तिमा भनिएको छ, “संविधानले सार्वजनिक पदमा रहने व्यक्तिलाई उच्च आचरण, इमानदारिता र कानूनप्रतिको सम्मान अनिवार्य ठहर गरेको छ। यस्ता गम्भीर आरोपकाबीच पदमा रहिरहनु लोकतान्त्रिक मूल्य, सुशासन र विधिको शासनको सिद्धान्तविपरीत छ।”

काउन्सिलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) माथि पनि अनुसन्धान अघि बढाउन माग गरेको छ। जेनजी आन्दोलनका क्रममा फेसबुकमार्फत जनतालाई उत्तेजित पार्ने, उक्साउने र सामाजिक असन्तुलन सिर्जना गर्ने अभिव्यक्तिबारे शाहमाथि अनुसन्धान गरी कारबाहीको माग गरिएको छ।

“अभिव्यक्ति स्वतन्त्रता मौलिक हक भएतापनि यसले सार्वजनिक शान्ति, सुव्यवस्था र सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने गतिविधिलाई वैधानिकता प्रदान गर्दैन,” काउन्सिलले विज्ञप्तिमा थपेको छ, “हामी सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री, संघीय संसद् तथा न्यायिक निकायलाई यस विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै छिटो, निष्पक्ष र संविधानसम्मत निर्णय लिन हार्दिक आग्रह गर्दछौं।”

यसैबीच, गृहमन्त्रीको राजीनामा लगत्तै पत्रकार दिल निशानीले फेसबुकमा लेखेका छन् : कुनै पनि गृहमन्त्रीले सपथ ग्रहण गरिसकेपछि सबैभन्दा पहिला सुरक्षा ब्रिफिङ लिने प्रचलन छ। त्यसका लागि एक–दुई दिन लाग्छ। कार्की छानबिन आयोगको प्रतिवेदन यति लामो थियो कि त्यसलाई सरसर्ती अध्ययन गर्नका लागि पनि कम्तीमा दुई–तीन दिन लाग्छ। ठूला मुद्दाहरू सरकारको इज्जतसँग जोडिने सरकारवादी मुद्दा हुने भएकाले महाधिवक्ताको राय पनि चाहिन्छ।

तर सुधन गुरुङले सपथ खाएको दिनमै घर पनि नगई आइजिपी कार्यालयमा गएर रातभर बसेका थिए। मानौं कथाको स्क्रिप्ट अरू कसैले लेखिसकेको थियो। निधारको अबिर मेटिएको थिएन, गलाको माला निकालेका थिएनन्, तर भटाभट पक्राउको आदेश दिइरहेका थिए। एउटा लोकतान्त्रिक देशमा हिरोइज्म देखाएर, बहुमतको तुजुक देखाएर, उनले आफूलाई सिकन्दरको रूपमा प्रस्तुत गरिरहेका थिए।

प्रक्रिया नपुराएर काम गर्दा सबै हिरासत मुक्त भए, आज उनी पनि पदमुक्त भए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button