९ बैशाख २०८३, बुधबार

गृहमन्त्री बन्नु दुई दिनअघि मात्र गुरुङले धनकुटामा किनेका थिए २० रोपनी जग्गा

काठमाडौँ — सम्पत्ति विवादपछि बुधबार मन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङले धनकुटाको २० रोपनी जग्गा गृहमन्त्री नियुक्त हुनु दुई दिनअघि मात्रै किनेको तथ्य फेला परेको छ।

धनकुटा मालपोत कार्यालयका अनुसार साँघुरीगढी गाउँपालिका–६ को कार्कीछाप भन्ने ठाउँमा १९ रोपनी १५ आना जग्गा चैत ११ गते वारेसमार्फत् गुरुङको नाममा पास भएको हो। उक्त जग्गा प्रतिरोपनी १७ हजार रुपैयाँ सरकारी मूल्यांकन गरेर किनबेच भएको मालपोत कार्यालयले जनाएको छ। त्यसबापत जग्गाको मूल्य ६ लाख ९० हजार रुपैयाँ उल्लेख छ। त्यही मूल्यांकन अनुसार राजस्व बुझाइएको मालपोतको भनाइ छ।

धनकुटा मालपोतका एक कर्मचारीले भने, “१६७ कित्ता नम्बरको जग्गा उहाँको नाममा पास भएको देखिन्छ। जुनू लिम्बू नामको जग्गाधनीबाट उहाँले किनेको अभिलेखमा छ।”

मालपोत कार्यालयका अनुसार साँघुरीगढीको ६ नम्बर वडा कार्यालयले गरेको सिफारिसका आधारमा जग्गाको सरकारी मूल्यांकन राखेर किनबेच भएको हो। वडा कार्यालयले उक्त जग्गामा बाटो नभएको र सडकबाट भित्र पर्ने भनेर सिफारिस गरेको छ।

साँघुरीगढी–६ का वडाध्यक्ष यमप्रसाद मगर (दीपक) ले जग्गा कसले किनेको आफूलाई थाहा नभएको तर जग्गाधनीले सिफारिस मागेपछि चैत ११ मा सिफारिस दिएको बताए।

यसअघि नै सुधन गुरुङले जेनजी आन्दोलनपछि र गृहमन्त्री बन्नुभन्दा पाँच दिनअघि करिब ५० दिनको अवधिमा पटक–पटक गरेर एउटा कम्पनीको ५३ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारबाट किनेको समाचार सार्वजनिक भइसकेको थियो। गुरुङले सम्पत्ति विवादका कारण नै राजीनामा दिन बाध्य भएका थिए। राजीनामा दिँदा उनले आफूमाथि उठेका विषयको निष्पक्ष छानबिनका लागि पद छाडेको बताएका थिए। तर, गृहमन्त्री बन्नु दुई दिनअघि मात्रै गरिएको यो जग्गा कारोबारले नयाँ बहस सिर्जना गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button