९ बैशाख २०८३, बुधबार

गुरुङको राजीनामापछि भारतीय सञ्चारमाध्यममा हलचल : ‘बालेन सरकारलाई अर्को झट्का’

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएको विषयलाई भारतीय सञ्चारमाध्यमले महत्त्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन्। उनीमाथि सम्पत्ति विवरणमा लगानी लुकाएको र विभिन्न कम्पनीमा गरिएको सेयर लगानीमा विवाद देखिएपछि उनी राजीनामा दिन बाध्य भएका हुन्।

एबीपी न्युजले लेखेको छ, ‘भ्रष्टाचारको आरोप लागेपछि बालेन शाहका गृहमन्त्रीले दिए २६ दिनमा राजीनामा।’ २६ दिनअघि मात्र गृहमन्त्री बनेका सुधन भ्रष्टाचारविरुद्ध आक्रामक रूपमा उत्रिएको तर उनीमाथि नै विवाद देखिएपछि आफैँ राजीनामा दिन बाध्य भएको उल्लेख छ।

आज तकले भ्रष्टाचारको आरोप लागेपछि तीन हप्तामै नेपालका गृहमन्त्रीले राजीनामा दिएको जनाएको छ। समाचारमा आम्दानीभन्दा बढी सम्पत्ति देखिएपछि गुरुङले राजीनामा दिएको बताइएको छ।

एनडिटिबी लाइभले ‘नेपालको बालेन सरकारमाथि दुई हप्तामा दोस्रो दाग’ शीर्षकमा लेखेको छ, ‘स्वास्थ्य मन्त्रीपछि गृहमन्त्री विवादमा।’ बिचौलिया दीपक भट्टसँग व्यापारिक कारोबार र साझेदारीको आरोप लागेपछि ३८ वर्षे गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएको उक्त टेलिभिजनको समाचारमा उल्लेख छ।

देशबन्धुले पारदर्शिता र जवाफदेहिताको अभावमा नैतिकताका आधारमा मन्त्री राजीनामा दिन बाध्य भएको लेखेको छ। बनारस ग्लोबल टाइम्सले ‘प्रधानमन्त्री बालेन शाहलाई अर्को झट्का’ शीर्षकमा २६ दिनमा गृहमन्त्रीले राजीनामा दिएको उल्लेख गरेको छ।

वन इण्डिया डट कमले ‘संकटमा बालेन सरकार, गृहमन्त्रीद्वारा राजीनामा, स्वास्थ्यमन्त्रीले पहिले छोडे पद’ भन्दै शाह सरकारको प्रारम्भिक दिनहरू निकै कष्टकर देखिएको उल्लेख गरेको छ।

यसबाहेक अन्य देशका सञ्चारमाध्यमले पनि यस घटनालाई प्राथमिकताका साथ समाचार कभर गरेका छन्। गुरुङको राजीनामापछि प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले दोस्रो मन्त्री गुमाएको छ। यसअघि स्वास्थ्य मन्त्री समेत विवादमा परेर राजीनामा दिइसकेका छन्। भारतीय सञ्चारमाध्यमले यसलाई बालेन सरकारको कमजोरी र अस्थिरताको संकेतका रूपमा चित्रण गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button